काठमाडौं । मध्यपूर्वी देशहरूमा तनाव चर्किएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ । विशेष गरी विश्वको सबैभन्दा संवेदनशील सामुद्रिक मार्ग स्ट्रेट अफ होर्मुजमा उत्पन्न अवरोधले विश्वव्यापी आपूर्ति शृङ्खलालाई नै ठप्प पार्ने जोखिम बढाएको छ । विश्वको करिब २० प्रतिशत कच्चा तेल ओसारपसार हुने यो साँघुरो जलमार्गमा इरानी सेनाको सक्रियता र सम्भावित नाकाबन्दीको त्रासले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल ल्याएको जनाएको छ ।
यसले गर्दा बजारमा तेलको अभाव मात्र नभई लागत मूल्यमा समेत भारी वृद्धि हुने अनुमान हुन थालेका छन् । यस वैश्विक संकटको प्रत्यक्ष असर दक्षिण एसियाली देशहरू विशेष गरी भारतमा स्पष्ट देखिएको छ । विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले पछिल्लो समय आफ्नो आपूर्ति स्रोतमा व्यापक विविधीकरण गरे पनि मध्यपूर्वमाथिको निर्भरता अझै उच्च छ । हाल भारतले सबैभन्दा बढी तेल रुसबाट आयात गरिरहेको छ, यद्यपि भुक्तानी र ढुवानीका समस्याले यसमा केही गिरावट आएको छ ।
त्यसपछि साउदी अरब, इराक र संयुक्त अरब इमिरेट्स (यूएई) भारतका प्रमुख तेल स्रोतहरू हुन् । पछिल्लो समय भारतले मध्यपूर्वको जोखिम कम गर्न अमेरिकाबाट पनि आफ्नो आयात बढाएको छ । तर, होर्मुज जलमार्गमा हुने सानो अवरोधले पनि भारतीय अर्थतन्त्रमा मुद्रास्फीति बढाउने र इन्धनको मूल्यवृद्धि गर्ने निश्चित देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मध्यपूर्वको यो युद्धले नेपालमा पेट्रोलियम पदार्थको अभाव हुन सक्ने आशंका गरिरहेका बेला नेपाल आयल निगमले बजारमा तेलको कुनै अभाव नरहेको स्पष्ट पारेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले आपूर्ति नियमित रहेको र उपभोक्ताले आत्तिएर तेल भण्डारण गर्नुपर्ने स्थिति नरहेको बताए ।
प्रवक्ता ठाकुरका अनुसार काठमाडौं उपत्यकाको सामान्य माग दैनिक करिब ८०० किलोलिटर पेट्रोल भए पनि निगमले पछिल्ला दिनहरूमा मागभन्दा झन्डै दोब्बर परिमाणमा तेल वितरण गरिरहेको छ । आइतबार मात्रै १ हजार ६५० किलोलिटर पेट्रोल वितरण गरिएको जानकारी दिँदै उनले भने, ‘बजारमा तेलको माग बढे पनि हामीले पर्याप्त मात्रामा आपूर्ति गरिरहेका छौं, त्यसैले अभाव हुने कुनै सम्भावना छैन ।’
नेपालले भारतबाट शतप्रतिशत ‘फिनिस्ड प्रोडक्ट’ खरिद गर्दै आएको छ । भारतसँग २ देखि ३ महिनासम्मलाई पुग्ने कच्चा तेलको सुरक्षित भण्डार रहेको र पाइपलाइनबाट २४ सै घण्टा आपूर्ति भइरहेकाले युद्ध वा अन्य अन्तर्राष्ट्रिय कारणले तत्काल नेपालमा असर नपर्ने निगमको भनाइ छ ।
उपभोक्ताहरूले आगामी दिनमा अभाव हुन सक्ने डरले बाल्टिन र जर्किनमा तेल भरेर घरमा राख्ने गरेको प्रति निगमले सचेत गराएको छ । पेट्रोलियम पदार्थ अति प्रज्वलनशील हुने भएकाले घरमा असुरक्षित रूपमा भण्डारण गर्दा ठूलो जनधनको क्षति हुन सक्ने प्रवक्ता ठाकुरले चेतावनी दिए ।
उनले भने, ‘तेलको आपूर्तिमा कुनै समस्या छैन, त्यसैले अनावश्यक रूपमा घरमा भण्डारण गरेर जोखिम निम्त्याउनु हुँदैन । आफूलाई आवश्यक जति मात्र खरिद गर्नूहोला ।’
बजारमा इरानबाट तेल आउने र त्यहाँ समस्या हुँदा नेपालमा अभाव हुने भन्ने भ्रम व्याप्त रहेको चर्चा गर्दै प्रवक्ता ठाकुरले तेलको मुख्य स्रोत इरान नभएको स्पष्ट पारे । भारतीय आयल कर्पोरेसनले साउदी अरेबिया, इराक र रुसजस्ता विभिन्न मुलुकबाट कच्चा तेल ल्याएर प्रशोधन गरी नेपाललाई पठाउने गरेको उनले जानकारी दिए ।
नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति संरचना झण्डै पूर्ण रूपमा भारतमा निर्भर रहे पनि हालसम्म आपूर्ति व्यवस्थापन तुलनात्मक रूपमा स्थिर देखिएको छ । निगमका अनुसार देशमा दैनिक रूपमा पेट्रोल २०/२५ लाख लिटर र डिजेल ४०/४५ लाख लिटर खपत हुने गरेको छ । खाना पकाउने एलपी ग्यासको माग भने मासिक करिब ४५ हजार मेट्रिक टन पुग्ने गरेको छ ।
यस्तै, निगमका अनुसार नेपालले आयात गर्ने कुल पेट्रोलियम पदार्थमध्ये ७० देखि ७५ प्रतिशतसम्म पाइपलाइनमार्फत् आउने गरेको छ । डिजेल, पेट्रोल र मट्टितेल सबैमा यो व्यवस्था लागू छ । भारतसँग जोडिएको पाइपलाइन प्रणालीका कारण ढुवानी खर्च घटेको छ र आपूर्ति सहज भएको निगमको दाबी छ ।
नेपालले आयात गर्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा ठूलो हिस्सा डिजेलको छ । त्यसपछि पेट्रोल र एलपी ग्यास पर्छन् । मट्टितेलको हिस्सा भने अत्यन्तै न्यून रहेको छ ।
खाना पकाउने ग्यासको हकमा बेला-बेला अभावको हल्ला चल्ने गरेको छ । निगमले भने माग र आपूर्तिको तालमेल नमिल्दा अस्थायी अभाव देखिनु ‘स्वाभाविक’ भएको बताउँदै आएको छ । चाडपर्व, जाडोयाम तथा अन्तर्राष्ट्रिय बजारमा ढुवानी अवरोध हुँदा वितरणमा दबाब पर्ने तर्क निगमको छ ।
निगमले बजारमा देखिएको कृत्रिम अभाव उपभोक्ताको अनावश्यक डरका कारण मात्र सिर्जना भएको भन्दै आपूर्ति व्यवस्था चुस्त रहेकोमा ढुक्क हुन सबैमा आग्रह गरेको छ ।
३ महिनाका लागि मौज्दात
बजारमा देखिन सक्ने सम्भावित पेट्रोलियम पदार्थ संकट र मूल्यवृद्धिका बीच सरकारले पनि उपभोक्ताहरूलाई नआत्तिन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्र भुसालले नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति र भण्डारणको अवस्था मजबुत रहेको भन्दै अनावश्यक चिन्ता नलिन आग्रह गरे ।
प्रवक्ता भुसालका अनुसार भारतले आगामी तीन महिनाका लागि आवश्यक पर्ने कच्चा तेल पहिले नै भण्डारण गरिसकेकाले नेपालमा इन्धनको अभाव हुने तत्काल कुनै सम्भावना छैन ।
‘नेपाल आयल निगम र भारतीय पक्षसँगको छलफलमा तीन महिनासम्म समस्या नहुने र पर्याप्त मौज्दात रहेको सुनिश्चित गरिएको छ,’ उनले विकासन्युजसँग भने ।
यस्तै, खाना पकाउने एलपीजी ग्यासको आपूर्ति पनि हाल सुचारु र सहज रहेको उनले स्पष्ट पारे । विश्व राजनीतिमा इरान र अमेरिकाबीचको तनावका कारण हुनसक्ने सम्भावित प्रभावलाई मध्यनजर गर्दै मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ ।
प्रवक्ता भुसालले युद्धको बाहनामा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, इन्धन लुकाउने वा मूल्य बढाउनेजस्ता कालोबजारी गर्नेहरूमाथि कडा निगरानी राखिएको बताए । वाणिज्य विभागमार्फत डिपो र पेट्रोल पम्पहरूमा नियमित अनुगमन भइरहेको र दोषी देखिएमा तत्काल कानुनी कारबाही गरिने उनले चेतावनी दिए ।
अन्तर्राष्ट्रिय परिस्थितिले बारम्बार पेट्रोलियम आपूर्तिमा चुनौती थप्ने हुनाले दीर्घकालीन समाधानका लागि स्वदेशी ऊर्जा (विद्युत) को प्रयोग बढाउनु पर्नेमा जोड दिए । इन्धनको परनिर्भरता घटाउन र संकटका बेला सुरक्षित रहन इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढाउन उनले आम उपभोक्तालाई आह्वान गरे ।
नेपालमा इरानबाट भारत हुँदै आउने इन्धनको हिस्सा कुल आयातको करिब ३ प्रतिशत मात्र रहेकाले इरानमा हुने तनावले नेपालमा ठूलो धक्का नपुग्ने मन्त्रालयको अनुमान छ ।
प्रवक्ता भुसालले भने, ‘अन्तर्राष्ट्रिय बजारका कारण मूल्यमा केही सामान्य फेरबदल हुनु स्वाभाविक भए पनि अभाव नै हुने स्थिति छैन ।’
निर्वाचन र चाडपर्वका बेला देखिएको मानिसहरूको मनोविज्ञान र पेट्रोल पम्पका लामो लाइनहरूतर्फ संकेत गर्दै उनले भने, ‘आपूर्ति सुचारु छ, त्यसैले आत्तिएर स्टक राख्नतिर नलाग्नूहोस् । सरकारले आफ्ना नागरिकको सुविधा र सुरक्षाका लागि कूटनीतिक र प्रशासनिक दुवै तहबाट काम गरिरहेको छ ।’
आपूर्ति पनि सहज
व्यवसायीहरूले पनि नेपालमा तत्कालै कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष गुणराज निरौलाले भारतबाट नियमित रूपमा तेल आपूर्ति भइरहेकाले उपभोक्ताहरूलाई नआत्तिन आग्रह गरे । उनका अनुसार अमलेखगञ्ज र सिलिगुडी दुवै नाकाबाट पाइपलाइन र ट्याङ्करमार्फत इन्धन भित्रिने क्रम जारी छ ।
विराटनगर डिपोबाट मात्रै दैनिक रूपमा करिब ४० वटा डिजेल र २५ देखि ३० वटा पेट्रोलका ट्याङ्करहरू बजारमा गइरहेको निरौलाले जानकारी दिए । यस डिपोले कोशी प्रदेशका विभिन्न १४ वटा जिल्लामा इन्धन आपूर्ति गर्दै आएको छ । ‘भारतमा तेलको कटौती नभएसम्म नेपालमा अभाव हुने सम्भावना छैन,’ उनले भने, ‘अहिलेसम्म पाइपलाइनबाट नियमित तेल आइरहेको छ । ’
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही बढे पनि र इरान–इजरायल तनावले विश्व बजार प्रभावित भए पनि नेपालको हकमा तत्कालै हाहाकार हुने स्थिति नरहेको उनको विश्लेषण छ ।
‘इरानको युद्धले भारतलाई असर गर्यो र भारतले नेपाल पठाउने तेलमा कटौती गर्यो भने मात्र समस्या हुनसक्छ, नत्र अहिलेलाई डराउनुपर्ने अवस्था छैन,’ निरौलाले थपे ।
गएको २८ तारिखमा भारतबाट मूल्य बढेर आए पनि सरकारले चुनावका कारण मूल्य समायोजन (वृद्धि) नगरेकाले जनतालाई केही राहत मिलेको उनले बताए । हाल डिजेलको मूल्य प्रतिलिटर करिब १३९ र पेट्रोलको १५४ रुपैयाँ रहेको र यो स्थिर रहेको उनको भनाइ छ ।
केही दिनदेखि पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन देखिनुलाई उनले अभावको त्रास मात्र भएको बताए । भोलि बिदाको दिन भए पनि नेपाल आयल निगमले डिपो खोलेर तेल वितरण गर्ने तालिका सार्वजनिक गरिसकेकाले बजारमा तेलको अभाव हुन नदिने व्यवसायीहरूको प्रतिबद्धता छ । उपभोक्ताहरूलाई अनावश्यक रूपमा इन्धन सञ्चय नगर्न र हल्लाको पछि लागेर त्रसित नहुन महासंघले अनुरोध गरेको छ ।