निर्वाचनका लागि ७७ हजार बढी प्रहरी परिचालन, मतदानस्थलमा गोप्य क्यामेरा

काठमाडौं । नेपाल प्रहरीले देशभरकै प्रतिनिधि सभाको निर्वाचन लागि कुल ७७ हजार ६७७ हजार प्रहरी परिचालन गरेको छ । सुरक्षा दृष्टिकोणलाई ध्यानमा राखेर निर्वाचन प्रहरी र नेपाल प्रहरीका कर्मचारीसहित ७७ हजार ६७७ प्रहरी परिचालन गरिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अवि नारायण काफ्लेले सामान्य मतदानस्थलमा १४ हजार २२५, संवेदनशील मतदानस्थलमा २६ हजार ६५२ र अति संवेदनशील मतदानस्थलमा ३६ हजार ८०० प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार नयाँ भर्ना गरिएका निर्वाचन प्रहरीसहित ७७ हजार बढी प्रहरी परिचालन गरिएको छ । मतदानस्थलको सुरक्षालाई ध्यानमा राखेर ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको उनले बताए ।

त्यसैगरी, मतदान स्थलको सुरक्षा प्रयोजनका लागि प्रहरी निर्वाचन व्यवस्थापन जानकारी भनेर सफ्टवेयरसमेत जडान गरेको काफ्लेले बताए । 

‘निर्वाचन सुरक्षामा कति प्रहरी सहभागी छन्, कति हातहतियारसहित प्रहरी पुगेका र कसरी व्यवस्थापन गरिएको छ त्यसको सम्पूर्ण विवरण ईएमआईमा सफ्टवेयरमा समावेश गराइन्छ,’ उनले भने, ‘मतदान स्थलमा सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर केही दुर्घटना भएमा पनि जीआईएस सफ्टवेयर समेत जडान गरेको छ । जहाँ हेलिकोप्टर सहजै अवतरण गर्न सक्छ वा सक्दैन त्यसको प्रत्यक्ष अवलोकन गर्न सक्छ । जसलाई भौगोलिक अवस्थाको सूचना दिने गर्छ ।’

मतदानस्थलको सुरक्षा गर्न प्रहरीले शरीरमा क्यामेरा राखेर निगरानी गर्ने काफ्लेको भनाइ छ । ‘मतदानस्थलमा अवाञ्छित गतिविधि नहोस भनेर प्रहरीले निगरानी गर्नेछ । बुथ क्याप्चर गर्न नदिने र झैझगडा हुन नदिने प्रहरीको उद्देश्य रहेको छ,’ उनले भने ।

मतदानस्थललाई सुरक्षित तथा भयरहित बनाउन सीसीटीभिबाट प्रहरीले प्रत्यक्ष रुपमा निगरानी गर्ने उनको भनाइ छ । 

सुरक्षा संवेदनशील मानिएको ठाउँमा ड्रोनबाट समेत हेरिने प्रहरीले तयारी गरेको काफ्लेले उल्लेख गरे ।

Share News