इरान : शून्यमा सत्ता, संकटमा शासन

काठमाडौं । अमेरिका–इजरायलका संयुक्त आक्रमणहरूको पहिलो लहरमै अली खामेनेईको हत्या भएपछि इस्लामिक गणराज्य इरान सन् १९७९ पछि सबैभन्दा निर्णायक मोडमा पुगेको छ । यस अभियानमा इरानका वरिष्ठ सैन्य तथा राजनीतिक नेताहरूलाई निशाना बनाइएको थियो ।

अमेरिकाले दाबी गरेको छ कि यसले इरानको सत्ताको संरचनालाई कमजोर बनाएको छ । आक्रमणपछि अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीले आफ्ना सार्वजनिक वक्तव्यहरूमा अत्यन्त कडा भाषा प्रयोग गरेका छन् ।

डोनाल्ड ट्रम्पले इरानीहरूलाई यो अवसरको फाइदा उठाउँदै ‘आफ्नो सरकार फिर्ता लिन’ आह्वान गरेका छन् । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले पनि यही कुरा दोहोर्याउँदै इरानमा सत्ता परिवर्तन ‘केवल आवश्यक मात्र होइन, सम्भव पनि रहेको’ बताएका छन् ।

अमेरिकाले आफ्नो सैन्य अभियानलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिएको छ । यसबारे अमेरिका स्पष्ट र दृढ देखिए पनि इरानी जनतालाई दिइएको राजनीतिक सन्देश भने धेरै अनिश्चित छ ।

आइतबार बिहान इरानी सरकारी टेलिभिजनले औपचारिक रूपमा अली खामेनेईको मृत्यु पुष्टि गर्दै कार्यकारी अधिकार सम्हाल्न तीन सदस्यीय अन्तरिम परिषद् गठन गरिएको घोषणा र्गयो । सरकारले तत्काल कदम चाल्दै देशमा स्थिरता कायम रहेको सन्देश दिन प्रयास गरेको छ ।

संवैधानिक प्रावधानहरूको उल्लेख गर्दै र अस्थायी शासन व्यवस्था सक्रिय गरेर अधिकारीहरूले सर्वोच्च पद खाली भए पनि प्रणाली कायम रहेको देखाउन खोजिरहेका छन् । अब सम्भावित उत्तराधिकारीबारे अड्कलबाजी तीव्र बनेको छ ।

इरानमा सम्भावित उम्मेदवारहरूलाई पहिले नै सार्वजनिक रूपमा प्रस्तुत गर्नु सामान्य अभ्यास होइन र यो प्रक्रिया प्रायः बन्द ढोकाभित्रै सञ्चालन हुने गर्छ ।

यद्यपि, सर्वोच्च नेता चयनका लागि गठित एसेम्ब्ली अफ एक्सपर्टले नामहरूको समीक्षा गरी उम्मेदवारहरूको छोटो सूची तयार गर्ने जिम्मेवारी वहन गर्ने बताइन्छ । यो समितिले छनोट प्रक्रिया औपचारिक रूपमा सुरु भएपछि सदनसमक्ष संक्षिप्त सूची पेश गर्न सक्छ ।

बैठकहरू बन्द ढोकाभित्र हुने र मतदान सार्वजनिक नहुने भएकाले बाहिरबाट यस प्रक्रियाको अनुगमन गर्ने सम्भावना अत्यन्त सीमित हुन्छ । 

हालका वर्षहरूमा खामेनेईका जेठा छोरा मोजतबा राष्ट्रपति पदका लागि अगाडि आउन सक्ने अड्कल गरिँदै आएको थियो । तर हालैका आक्रमणहरूमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका उनका धेरै विश्वस्त कमाण्डरहरू मारिएको खबरपछि आन्तरिक शक्ति सन्तुलन बदलिन सक्ने सम्भावना देखिएको छ ।

अघिल्लो संसदीय इतिहासले पनि संकेत गर्छ कि स्वयं खामेनेई नेतृत्वमा आउँदा उनी व्यापक रूपमा मुख्य विकल्प मानिएका थिएनन् । यसले अन्तिम परिणाम अपेक्षाभन्दा फरक हुन सक्ने संकेत दिन्छ ।

छनोट प्रक्रिया तीव्र गतिमा अघि बढ्न सक्छ र सम्भवतः केही दिनमै सम्पन्न हुन सक्छ ।

सैन्य दृष्टिकोणले हेर्दा इरानले ठूलो धक्का बेहोरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उसका धेरै सैन्य अड्डाहरू अझै जोखिममा छन् र अमेरिका–इजरायलको हवाई अभियान जारी छ ।

जनतामा असुरक्षाको भावना बढेको छ । धेरै सैन्य अड्डाहरू क्षतिग्रस्त भएका छन् ।  सत्ताको शीर्ष तहमा रिक्तता देखिएको छ र निर्णय प्रक्रिया आपतकालीन अवस्थामा सीमित भएको छ । यद्यपि इरानले प्रतिआक्रमण गर्ने क्षमता प्रदर्शन गरेको छ ।

आक्रमणका पहिलो दुई दिनमा इरानी बलहरूले धेरै अरब देशहरूमा रहेका अमेरिकी अड्डाहरू र इजरायलका लक्ष्यहरूमा हमला गरेका छन् । पहिलोपटक क्षेप्यास्त्रहरू दुबईका नागरिक संरचनाहरू र कुवेतको एक नागरिक विमानस्थलमा खस्यो ।

यी सबै घटनाले आफ्ना नेताहरू गुमाए पनि इरानसँग अझै सैन्य शक्ति र त्यसको प्रयोग गर्ने इच्छाशक्ति दुवै रहेको देखाउँछ । अब क्षेत्रीय स्तरमा द्वन्द्व थप चर्किन सक्ने आशंकासमेत व्यक्त गरिएको छ ।

इरानी नेतृत्वको दृष्टिकोणबाट हेर्दा यदि युद्धको दायरा फैलिन्छ र मध्यपूर्वमा उसका सहयोगी मिलिसिया (अर्धसैनिक वा स्वेच्छिक लडाकु) समूहहरू पनि लडाइँमा संलग्न हुन्छन् भने इरानले युद्धविरामका लागि दबाब सिर्जना गर्न वा कम्तीमा पनि अमेरिका र इजरायलले राखेका सर्तहरूमा पूर्ण आत्मसमर्पणबाट जोगिन केही छुट पाउन सक्छ, किनकि अमेरिका पनि यो संघर्ष लामो समयसम्म तान्न इच्छुक नहुन सक्छ ।

अर्कोतर्फ निरन्तर सैन्य दबाब र सत्ताविरुद्ध व्यापक विरोध प्रदर्शन फेरि चर्किएमा यसले इस्लामिक गणराज्यलाई पतनतर्फ धकेल्न सक्छ ।

यदि सुरक्षा तथा सैन्य बलका केही हिस्सामा मतभेद उत्पन्न भए वा उनीहरूले नेतृत्वका आदेश पालना गर्न अस्वीकार गरे भने इरानको वर्तमान शासन थप संकटमा पर्न सक्छ ।

आगामी दिनहरूले इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स तथा देशका अन्य सुरक्षा र सैन्य संस्थाहरू लामो समयसम्म रहेका आफ्ना नेताको अनुपस्थितिमा एकजुट रहन सक्छन् कि सक्दैनन् भन्ने देखाउनेछन् । हालका लागि सबै प्रकारका सम्भावनाहरू खुला छन् ।

यी आक्रमणपछि इस्लामिक गणराज्य अघिल्लो तुलनामा कमजोर अवस्थामा देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । तथापि उसँग संस्थागत संरचना, सशस्त्र बल तथा प्रतिकार क्षमता अझै कायम छ, जसले कुनै पनि सरल सत्ता परिवर्तनको मार्गलाई जटिल बनाउँछ ।

अली खामेनेईको हत्याले इरानलाई अस्थिर र अनिश्चित चरणमा प्रवेश गराएको छ । (बीबीसीबाट अनुदित तथा सम्पादित )

खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित

खामेनेईको अवसान र तेहरानको हुँकार : मध्यपूर्वमा ‘महायुद्ध’को संकेत !

इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली
 

Share News