दैनिक ५ हजार लाइसेन्सको माग, यसरी भइरहेको छ वितरण

काठमाडौं । दैनिक ५ हजार सवारी लाइसेन्सको माग हुने गरेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार यसअघि आवेदन दिइसकेका २५ लाख सेवाग्राहीलाई लाइसेन्स दिन बाँकी रहेको छ । 

अहिले अत्यावश्यक भएकालाई प्राथमिकतामा राखेर तत्काल लाइसेन्स उपलब्ध गराउने गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताए । 

उनका अनुसार विभागमा दैनिक करिब ६ सय जनाले इमरजेन्सी भन्दै लाइसेन्स लिन आउने गरेका छन् र सोही अनुपातमा वितरण भइरहेको छ । 

अनलाइन वा भौतिक रूपमा आवेदन दिएपछि लाइसेन्ससम्बन्धी डेटा सेक्युरिटी प्रिन्टिङ प्रेसमा पठाइन्छ । त्यहाँबाट ५ देखि ७ दिनभित्र लाइसेन्स प्रिन्ट भएर आउने र त्यसपछि वितरण गरिने व्यवस्था गरिएको विभागका महानिर्देशक पोखरेलले बताए । 

उनका अनुसार लाइसेन्सको समस्या समाधान गर्न विभागले विभिन्न उपाय अवलम्वन गरेको छ । नागरिक एपमार्फत डिजिटल लाइसेन्स देखाउन सकिने व्यवस्था गरिएको छ । 

ट्राफिक प्रहरीले पनि सो डिजिटल लाइसेन्सलाई मान्यता दिने गरेको छ । ट्राफिक नियम उल्लंघन भएमा त्यही लाइसेन्सका आधारमा चिट काट्न र जरिवाना पनि अनलाइनमार्फत तिर्न सकिने व्यवस्था गरिएको छ । यसले लाइसेन्स वा रसिद बोकिरहनुपर्ने बाध्यता हटेको विभागको भनाइ छ ।

जेनजी आन्दोलनका बेला विभागमा लागेको आगलागीका कारण करिव २ लाख ५० हजार लाइसेन्स जलेर नष्ट भएका थिए । तर अहिले लाइसेन्स छपाइको काम जारी रहेको र केही सेवाग्राही भने तयार भइसकेको लाइसेन्स लिन नआएको अवस्था पनि रहेको महानिर्देशक पोखरेलले जानकारी दिए ।

उनका अनुसार जेनजी आन्दोलनका बेला संसद भवन नजिक रहेको कारण आन्दोलनको केन्द्रबिन्दुमै रहेको विभागमा सबैभन्दा बढी क्षति पुगेको थियो । विभाग पूर्णरूपमा क्षतिग्रस्त भएपनि कर्मचारीको प्रयासबाट करिब ६० लाख ड्राइभिङ लाइसेन्सको डेटा पुनर्जीवित (रिभाइभ) गर्न सफल भएको महानिर्देशक पोखरेलले जानकारी दिए ।

उनका अनुसार जेनजी आन्दोलनका बेला लाइसेन्स प्रिन्ट गर्ने मेसिन जलेर नष्ट भएको थियो । उक्त मेसिन सञ्चालनमा आउन नसकेपछि अहिले सेक्युरिटी प्रिन्टिङ प्रेस बनेपासँग सम्झौता गरेर लाइसेन्स छपाइको काम अघि बढाइसकिएको छ । 

विभागले वैदेशिक रोजगारीमा जाने वा अन्य आपतकालीन आवश्यकताका लागि लाइसेन्स चाहिने व्यक्तिले विभागमा निवेदन दिएपछि प्राथमिकताका आधारमा लाइसेन्स उपलब्ध गराइँदै आएको जनाएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेसले पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ गरेर उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ र क्रमशः सबैले लाइसेन्स पाउने पोखरेलले बताए।

डिजिटल लाइसेन्स प्रयोग बढेकाले अहिले लाइसेन्ससम्बन्धी समस्या पहिलेको जस्तो गम्भीर नरहेको उनको भनाइ छ ।

Share News