काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा थप कडाइ गरेको छ । आयोगले देशभर खटिएका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म विशेष सतर्कता अपनाउन स्पष्ट निर्देशन दिएको छ ।
आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेका अनुसार निर्वाचनको निष्पक्षता र स्वच्छता सुनिश्चित गर्न मंगलबारदेखि नै विशेष कडाइ सुरु भएको छ । मतदान हुनुअघि ४८ घण्टाको अवधिलाई संवेदनशील समय मानिँदै यस अवधिमा राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय तथा सम्बन्धित सबै पक्षले आचारसंहितामा तोकिएका नियमहरूको पूर्ण पालना गर्नुपर्ने न्यौपानेले बताए ।
फरक–फरक जिम्मेवारीसहित अधिकृत खटाइयो
निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी तोकिएको छ । उनीहरूलाई आफ्नो कार्यक्षेत्रभित्र हुने गतिविधिहरूको सूक्ष्म निगरानी गर्दै आचारसंहिता उल्लङ्घन हुन नदिन सक्रिय भूमिका निर्वाह गर्न भनिएको न्यौपानेले बताए ।
निर्वाचन आचारसंहिता, २०७२ को दफा १७ मा उल्लेख भएअनुसार मतदानको अघिल्लो ४८ घण्टा र मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म विशेष आचरण लागू हुने न्यौपानेले जानकारी दिए । यस अवधिमा प्रचार–प्रसार, मतदातालाई प्रभावित पार्ने गतिविधि, सार्वजनिक सभा तथा जुलुस प्रदर्शनजस्ता कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।
आयोगले उक्त प्रावधानको अक्षरशः कार्यान्वयन गराउन जिल्ला स्तरमा अनुगमनलाई तीव्र बनाउन निर्देशन दिएको छ। कुनै पनि प्रकारको उल्लङ्घन देखिए तत्काल कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।
कानुनी कारबाहीको चेतावनी
निर्वाचन आचारसंहिता तथा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ विपरीत गतिविधि भएको पाइएमा सोही ऐनअनुसार कारबाही गरिने स्पष्ट पारिएको सहप्रवक्ता न्यौपानेले बताए । उनका अनुसार आवश्यक परे जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गरी दोषीमाथि कानुनी प्रक्रिया अघि बढाइनेछ ।
आयोगले निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न अपिल समेत गरेको न्यौपानेले बताए ।