भन्सार छलीका सामान बरामद, फार्म सञ्चालक समेत नियन्त्रणमा

काठमाडौं । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका ८ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी ८ लाख ४० हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका-३ पडेरियास्थित एक कृषि फार्ममा भारतबाट भन्सार छली गरी ल्याइ लुकाइ छिपाइ राखिएको ७७२ थान लेडिज कुर्तासुरुवाल सेट बरामद गरिएको छ । उक्त कपडाको अन्दाजी मूल्य ७ लाख १२ हजार रुपैयाँ रहेको छ । घटनामा संलग्न फार्म सञ्चालकलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको उनले जानकारी दिए । 

यस्तै, रोहिणी गाउँपालिका-१ झोलुङ्गे पुल नजिक बेवारिसे अवस्थामा रहेका २ मोटरसाइकलबाट २० कार्टुन रेडबुल र १० कार्टुन स्नाइकर चकलेट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद पेय पदार्थ तथा चकलेटको अन्दाजी मूल्य ७८ हजार ६०० रुपैयाँ तथा मोटरसाइकलको अन्दाजी मूल्य ५० हजार रुपैयाँ गरी कुल १ लाख २८ हजार ६०० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको प्रवक्ता चन्दले बताए । बरामद सबै सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

Share News