काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि सामग्री र कर्मचारी बोकेर जाँदै गरेको गाडी रामेछापमा दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षक (असई) को दुःखद निधन भएको छ भने ८ जना घाइते भएका छन् ।
रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी सिरुवारी डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका ८ जनालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजन तिमल्सिनाका अनुसार घाइते ८ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था सामान्य छ ।
दुर्घटनाका बेला गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी तथा मतपेटिका र आवश्यक कागजातसहित कुल ११ जना सवार थिए । दुर्घटना हुनासाथ तीन जनाले ज्यान जोगाउन गाडीबाट हाम फालेको प्रहरीले जनाएको छ ।