काठमाडौंको सडक सुनसान

काठमाडौं । निर्वाचनको मौन अवधि शुरु हुनै लाग्दा काठमाडौंको सडक सुनसान देखिएको छ । मतदाताहरू आ–आफ्नै जिल्ला मतदान गर्ने प्रयोजनका लागि मतदान केन्द्रतर्फ जाने थालेपछि सोमबार होली पर्वका दिन पनि काठमाडौंको मुख्यमुख्य सडकमा केही ठाउँमा होलि खेल्दै गरेका केही समूहबाहेक सुनसान देखिएका हुन् । 

अब फागुन २१ गते अर्थात मतदानका लागि ३ दिन मात्रै बाँकि छ । राजनीतिक दल र त्यसका उम्मेदवारहरु आज बेलुका राति १२ बजेबाट मौन अवधि शुरु हुने भएपछि उनीहरुले यतिखेर आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित चुनावी प्रचार अभियानको विट मार्ने तयारीमा छन् । 

त्यसैगरी मतदाताहरु पनि मतदानका लागि आ-आफ्नो निर्वाचन क्षेत्रमा जाने कामलाई तीब्रता दिएका छन् । काठमाडौंको सडकमा यहाँका उम्मेदवार र उनीहरुको प्रचारका लागि हिँडेका केही गाडीहरुले उम्मेदवारको प्रचारका लागि माइकिङ गर्दै हिँडेको देखिन्छ । 

यस पटकको निर्वाचनमा राजनीतिक दलहरुले घरदैलो अभियानलाई अघि बढी जोड दिएका छन् । मतदातासँग प्रत्यक्ष भेटेर मत माग्ने कुरालाई उनीहरुले प्राथमिकता दिएकाले आमसभा लगायतका कार्यक्रमहरु पनि कम देखिएका छन् ।

निर्वाचन आयोगले पनि निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी हुलहुज्जत नगर्न पनि राजनीतिक दल र तिनको उम्मेदवारहरु सचेत गराउँदै आएको छ । निर्वाचन केन्द्रित अभियानका कारण यस वर्षको होलि पर्वमा पनि धेरै जमघट हुन नसकेको विश्लेषण गरिएको छ । 

Share News