काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार सोमबार दिउँसो राष्ट्रलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हो । सम्बोधनको ठ्याक्कै समय भने अझै निर्धारण भइसकेको छैन ।
प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सरकारको तयारी, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन गरिएका व्यवस्थाहरू तथा मतदातालाई सहभागिताका लागि आह्वान गर्ने अपेक्षा गरिएको छ । निर्वाचन नजिकिँदै गर्दा राजनीतिक वातावरण तातिरहेको अवस्थामा सरकार प्रमुखको सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रेस सल्लाहकार रावलका अनुसार सम्बोधनमा निर्वाचनसँग सम्बन्धित विषय मात्र नभई पछिल्ला राजनीतिक घटनाक्रम, प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन, तथा राष्ट्रिय प्राथमिकताका अन्य समसामयिक मुद्दाहरू पनि समेटिनेछन् । सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्था र आगामी दिनका योजनाबारे समेत प्रधानमन्त्रीले धारणा सार्वजनिक गर्ने तयारी छ ।
निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको यस सम्बोधनलाई राजनीतिक दलहरू, नागरिक समाज र सर्वसाधारणले चासोका साथ हेरिरहेका छन् । मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिरहँदा शान्ति, स्थिरता र लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्धता दोहोर्याउने सन्देश प्रधानमन्त्रीले दिने अपेक्षा गरिएको छ ।
सरकारले निर्वाचन आयोगसँगको सहकार्य, सुरक्षा निकायको परिचालन तथा आवश्यक प्रशासनिक समन्वयमार्फत चुनावी वातावरण व्यवस्थित बनाउने दाबी गर्दै आएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको राष्ट्रका नाममा हुने सम्बोधनले चुनावी वातावरणमा थप स्पष्टता र दिशा दिने विश्वास गरिएको छ ।