सल्यान । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न गाडीबाट मदिरा र चामल बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । बनगाड–कुपिण्डे नगरपालिकास्थित सल्लिबजारमा सोमबार बिहान खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जीप प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार बिहान करिब ८ बजे गाडीबाट रक्सी ७ कार्टुन, बियर २ कार्टुन, चामल २ बोरा र खाने तेल ३ कार्टुनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार पार्टीको प्रचारप्रसारमा प्रयोग गरिएको उक्त गाडीमा पार्टीको झण्डा, ब्यानर तथा साउन्ड बक्ससमेत रहेको थियो । मतदान नजिकिँदै गएको अवस्थामा गाडीमा मदिरा र खाद्यान्न लोड गरिएको पाइएपछि निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै स्थानीयस्तरमा विरोध सुरु भएको छ । घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा समेत व्यापक रूपमा फैलिएको छ ।
जीप चालक नन्द रानाले उक्त सामग्री खैरागारसम्म स्थानीय व्यापारीको ढुवानीका लागि लगिएको दाबी गरेका छन् । बरामद सामग्री कृतिबहादुर रानाको भएको बताइएको छ ।
रास्वपा बनगाड–कुपिण्डे नगर सभापति लोकेन्द्र वलीले प्रचारमा प्रयोग भएको गाडीमा यस्तो सामग्री राखिनु चालकको कमजोरी भएको बताएका छन् । उनले भुलवश वा अन्जानमा भएको गल्ती स्वीकार गर्दै पार्टीलाई यसबारे जानकारी नभएको र चालकले आफ्नै विवेकमा सामग्री राखेको दाबी गरे । तर स्थानीयले भने नियतवश नै गाडीमा मदिरा र चामल राखिएको आरोप लगाएका छन् ।
उक्त सामग्रीसहितको गाडी हाल प्रहरी नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।