काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वी देशहरूमा १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका जनाएको छ ।
आइतबार (आज) मन्त्रालयले मध्यपूर्वी देशहरूमा वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि पुगेका नेपालीको यकिन संख्या सार्वजनिक गरेको हो ।
मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नेपालीको यकिन संख्याबारे जानकारी दिएको हो।
इरान, युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत, इराक, बहराइन, ओमान, साइप्रस, इजरायल, लेबनान र इजिप्टमा गरी १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका छन् ।
मन्त्रालयका अनुसार इरानमा ६, इजिप्टमा ५ सय, लेबनानमा १ हजार ५ सय, इजरायलमा ६ हजार ५ सय, साइप्रसमा १७ हजार, ओमनमा २५ हजार, बहराइनमा २८ हजार, इराकमा ३० हजार, कुवेतमा १ लाख ७५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, साउदीमा ३ लाख ८४ हजार ८६५ र युएईमा ७ लाख नेपाली रहेका छन्।
यो तथ्यांक मध्यपूर्वस्थित नेपाली राजदूतावासहरूबाट लिखित रूपमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
मध्यपूर्वमा तनाव बढेपछि मन्त्रालयले मध्यपूर्वी देशमा रहेका नेपालीहरूको संख्या सार्वजनिक गरेको हो ।