काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले युद्धप्रभावित मुलुकमा रहेका नेपालीहरूको सुरक्षा र उद्दारमा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।
इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरूमा देखिएको अन्यौलग्रस्त अवस्था र त्यसबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूमा पर्न जाने प्रभावका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।
युद्धका कारण नेपालीहरूमा पर्न जाने असुविधाप्रति आयोगले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ।
‘राज्य नागरिकको अभिभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भए पनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्दार गर्नु राज्यको दायित्वभित्र पर्दछ । यस विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरूमा रहेका आफ्ना नागरिकको सुरक्षा र संरक्षणका लागि तथ्यांक संकलन गर्ने, पछिल्लो वस्तुस्थितिको बारेमा आवश्यक जानकारी लिने र जोखिममा रहेका नागरिकहरूलाई उद्दार गरी स्वदेश फर्काउन तत्काल पहलकदमी लिनुपर्दछ,’ आयोगले भनेको छ, ‘यसका लागि सरकारले आफ्ना कूटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्नुका साथै सम्बन्धित देशका गैरआवासीय नेपाली संघ–संगठनहरूसँग समेत समन्वय र सहकार्य गर्नु आवश्यक छ ।’
युद्धग्रस्त तथा प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणको लागि तथ्यांक संकलन गर्न पनि आयोगले निर्देशन दिएको छ ।
आयोगले जोखिमको आंकलन गर्न र अतिप्रभावित क्षेत्रमा रहेका नागरिकहरूको उद्दार गरी स्वदेश फर्काउन आयोग नेपाल सरकार तथा विदेशस्थित कुटनीतिक नियोगहरूलाई आग्रहसमेत गरेको छ ।
नेपाली नागरिकको सुरक्षा, उद्दारमा आवश्यक समन्वय तथा सहयोग गर्न आयोगले ती देशहरूमा रहेका गैरआवासीय नेपाली संघलाई समेत अनुरोध गरेको छ ।