काठमाडौं । नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउने सुविधा उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार यस सेवामार्फत एकै पटक दुई हजार, पाँच हजार र १० हजारसम्म एसएमएस पठाउन सकिन्छ ।
एउटै सन्देश धेरै व्यक्तिलाई पठाउनुपर्ने अवस्थामा विभिन्न व्यक्ति तथा संस्थाले यस सेवा उपयोग गर्दै आएका छन् । हालको सन्दर्भमा समेत सूचनामूलक सन्देश छिटो र प्रभावकारी रूपमा प्रसारण गर्न यो सेवा उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ ।
सेवा अन्तर्गत १ हजार २४३ रुपैयाँमा २ हजार एसएमएस, ३ हजार १०८ रुपैयाँमा ५ हजार एसएमएस र ६ हजार २१५ रुपैयाँमा १० हजार एसएमएस पठाउन सकिन्छ । सेवा प्रयोग गर्न प्रयोगकर्ताको नाममा दर्ता भएको कम्पनी सिमकार्ड आवश्यक पर्नेछ । साथै, प्रेषित सन्देशको विषयवस्तु, शब्द र भावसम्बन्धी पूर्ण जिम्मेवारी पठाउने व्यक्ति वा संस्थाकै हुनेछ ।
यो सेवा मोबाइल, डेस्कटप वा ल्यापटपबाट सम्बन्धित वेब पोर्टलमा लगइन गरी आवश्यक प्याकेज खरिद गरेर प्रयोग गर्न सकिनेछ । सामूहिक सन्देश पठाउनका लागि आवश्यक मोबाइल नम्बरहरू एक्सेल शिटमार्फत अपलोड गर्नुपर्नेछ, जसपछि एकै पटक धेरै जनालाई सन्देश पठाउन सकिन्छ ।
कम्पनीका प्रवक्ता रबिन्द्र मानन्धरले सेवा सम्बन्धी उक्त जानकारी सार्वजनिक गरेका हुन् ।