पुँजी ९९ करोड, लाभांश डेढ अर्ब रुपैयाँ

काठमाडौं । राजेश मेटल क्राफ्टस लिमिटेडले डेढ सय प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको फागुन १५ गते बसेको बैठकले  १४९.९२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीका अनुसार चुक्ता पुँजी ९९ करोड रुपैयाँको १४२.४२ प्रतिशतका दरले १ अर्ब ४१ करोड रुपैयाँ बराबर बोनस सेयर र कर प्रयोजनसहितका लागि ७.५० प्रतिशतका दरले ७ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद गरी कुल १४९.९२ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ४२ लाख १० हजार रुपैयाँ लाभांश प्रस्ताव गरिएको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत २ गते राजेश मेटल क्राफ्टस लिमिटेडको कार्यालय, थापाथली, काठमाडौंमा दिउँसो २ बजे विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सभाले प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने गर्नेछ । 

काठमाडौं । राजेश मेटल क्राफ्टस सन् १९९३ मा उद्योगी श्रवण कुमार अग्रवालद्वारा स्थापना गरिएको उद्योग हो । कम्पनी पारिवारिक स्वामित्वमा सञ्चालन हुँदै आएको छ । यसको सेयर संरचना ६ जना व्यक्ति र ४ वटा संस्थाको स्वामित्वमा छ । कम्पनीले इस्पातका पाइप, जस्ती पत्रा तथा रङ्गीन पत्रालगायत विभिन्न इस्पातजन्य सामग्री उत्पादन गर्दै आएको छ ।

कम्पनीले मुख्य कच्चा पदार्थका रूपमा हट रोल्ड कुइल भारतबाट आयात गर्छ । उक्त कच्चा पदार्थलाई आफ्नै कोल्ड रोलिङ मिलमार्फत प्रशोधन गरी कोल्ड रोल्ड कुइल उत्पादन गरिन्छ र त्यसपछि अन्तिम तयारी सामग्री निर्माण गरिन्छ ।

आरएमसीको मुख्य बजार आन्तरिक बजार नै रहेको छ । निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो मागलाई लक्षित गर्दै कम्पनीले स्वदेशमै इस्पातजन्य सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ ।

कम्पनीले सन् २०२४ मा ४ अर्ब १० करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब ४६ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा ७ अर्ब ५७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

कम्पनीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब २६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । 

Share News