आफ्ना सर्वोच्च नेता खामेनेई मारिएको इरानद्वारा पुष्टि, ४० दिने राष्ट्रिय शोक घोषणा

काठमाडौं । इरानले अमेरिकी र इजरेली आक्रमणमा परी आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको औपचारिक पुष्टि गरेको छ । सरकारी टेलिभिजनमार्फत् देशभर ४० दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरिएको जनाइएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त हमलामा खामेनेईकी छोरी, ज्वाइँ, नातिनातिना तथा एक बुहारीसमेत मारिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि भएको अमेरिकी–इजरेली आक्रमणमा खामेनेई मारिएको सामाजिक सञ्जालमार्फत् घोषणा गरेका थिए । उनले ‘इरानी जनता’, ‘अमेरिकी जनता’ र ‘विश्वभरिका धेरै मानिसका लागि न्याय भएको’ दाबी गर्दै बमबारी जारी रहने चेतावनीसमेत दिएका छन् । साथै उनले इरानी जनताका लागि ‘आफ्नो देश फिर्ता लिने यो नै एक अवसर भएको’ टिप्पणी गरेका छन् ।

संयुक्त राज्य अमेरिका र इजरेलको आक्रमणको जवाफमा इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा प्रतिआक्रमण गरेको जनाएको छ । दुबई, दोहा, बाहरेन र कुवेतस्थित अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाइएको विवरण सार्वजनिक भएका छन् ।

दोहास्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा अल उदेइद हवाई अखडालाई लक्षित गरी विस्फोट गराइएको जनाइएको छ ।

रोएटर्सका अनुसार इराकको एर्बिलस्थित अमेरिकी सैन्य अखडा नजिकै उडिरहेको एक ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालेको छ ।

इजरेलसँग सिमाना जोडिएको जोर्डनले आफ्ना सशस्त्र बलले दुईवटा बलिस्टिक क्षेप्यास्त्र अवरोध गरी खसालेको जनाएको छ ।

त्यसैगरी, संयुक्त अरब एमिरेट्सको दुबईस्थित फेअरमोन्ट द पाम होटल क्षेत्रमा विस्फोट भएको देखिएको छ । अधिकारीहरूका अनुसार पाम जुमेरा क्षेत्रमा रहेको एक भवनमा भएको उक्त घटनामा चार जना घाइते भएका छन् ।

रेडक्रसका अनुसार अमेरिका र इजरेलको हमलामा इरानमा दुई सयभन्दा बढी व्यक्ति मारिएका छन् । इरानी सञ्चारमाध्यमहरूले एक कन्या विद्यालयमाथि भएको आक्रमणमा कम्तीमा ८५ जना मारिएको दाबी गरेका छन् ।

खामेनेई सन् १९७९ को इस्लामिक क्रान्तिपछिका इरानका दोस्रा सर्वोच्च नेता हुन् । सन् १९८९ मा रुहोल्लाह खोमेइनीको निधनपछि उनी सर्वोच्च नेता बनेका थिए ।

चार दशकभन्दा बढी समय सत्तामा रहेका खामेनेईका कट्टरपन्थी धारणा र नीतिहरूले इस्लामिक गणतन्त्र इरानको राजनीतिक तथा सामाजिक दिशालाई प्रभाव पारेका थिए । उनको कार्यालयको व्यापक अधिकारका कारण उनी देशका सर्वाधिक शक्तिशाली व्यक्तिका रूपमा स्थापित थिए । बीबीसी

Share News