थुन्ने अनि सुन्ने होइन, अब सुन्ने अनि थुन्ने व्यवस्था गर्छौं : सभापति थापा

१५ वर्षसम्म स्थिर कर नीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आत्मविश्वास गुमाएको अर्थतन्त्रलाई सबल बनाउन विश्वासको वातावरण बनाउनेतर्फ अग्रसर हुन जरुरी रहेको बताएका छन् । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साले वीरगन्जमा आयोजना गरेको मधेस प्रतिज्ञा सभामा बोल्दै सभापति थापाले मुलुकको अर्थतन्त्रमा जताततै आत्मविश्वासको कमीको कारणले लगानी मैत्री वातावरण नभएकाले पनि कांग्रेस नेतृत्वको सरकार आएको खण्डमा अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे ।

‘हामीलाई यहाँ विश्वास चाहिएको छ । सेयर तथा पुँजी बजारमा काम गर्नेलाई पनि विश्वास चाहिएको छ । स-साना व्यवसाय गर्नेलाई पनि विश्वास चाहिएको छ,’ सभापति थापाले भने । 

उनले कांग्रेसले ल्याएको चुनावी प्रतिज्ञा पत्रमा वर्षको १० लाख रुपैयाँसम्म आम्दानी गर्ने प्रत्येक नेपाली नागरिकले एक रूपैयाँ पनि कर तिर्न नपर्ने व्यवस्था गर्ने गरी प्रतिज्ञापत्र ल्याएको जानकारी दिए ।

‘कम्तीमा १०-१५ वर्षसम्म नेपालको कर नीति स्थिर रहने व्यवस्था गर्छौं । पहिला थुन्ने अनि सुन्ने होइन । अब पहिला सुन्ने अनि थुन्ने व्यवस्था गर्छौं,’ उनले भने ।

सभापति थापाले व्यापारी तथा व्यवसायीको मनोबल नबढाइ आर्थिक गतिविधि चलायमान हुन नसक्ने स्पष्ट पारे । ‘आर्थिक गतिविधि नबढाइकन रोजगारी सृजना हुनै सक्दैन,’ उनले भने । रोजगारी सृजना सरकारी निकायले मात्रै नभएर निजी क्षेत्रले पनि रोजगारी सृजना गर्न सक्ने उनको भनाइ छ । 

नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का उम्मेदवार अनिलकुमार रुगँटाले पर्साको आर्थिक र विकासको एजेन्डालाई मूर्तरूप दिने बताए । नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का उम्मेदवार अजय कुमार चौरसिया र क्षेत्र नं ४ का उम्मेदवार रमेश रिजालले गगन थापा नेतृत्वको सरकारले युवापुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्ने विश्वास व्यक्त गरे । 

Share News