चन्द्र प्रसादका ७ भाइ छोराले साढे ६ करोडमा बनाए शिव मन्दिर

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-१ आपगाछीमा ६ करोड ६० लाख रुपैयाँको लागतमा चन्द्रेश्वर शिव मन्दिर निर्माण गरिएको छ । स्थानीय चन्द्रप्रसाद अधिकारीका सन्तानले उक्त मन्दिर निर्माण गरेका हुन् ।

मन्दिरको एक कार्यक्रमबीच शनिबार नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गरे । भोजपुरको याक्कुकट्टीबाट सुनसरीको इटहरी आपगाछीमा १९९० सालतिर बसाइँ सरेर आएका चन्द्र प्रसादका सन्तानले ५ कट्ठा जग्गा खरिद गरी मन्दिर निर्माण गरेको निर्माण समितिका अध्यक्ष विनोद अधिकारीले बताए । 

चन्द्र प्रसादका देशभर छरिएर रहेका ७ भाइ छोराका नाति तथा पनातिले संयुक्त रूपमा जग्गा खरिद गरी चार वर्ष लगाएर मन्दिर निर्माण गरेका हुन् । शिव मन्दिर निर्माणपछि पूजा अर्चनाका लागि खुला गरिएको छ । यहाँ दैनिक रूपमा भक्तजन पूजाआजा गर्न आउने गरेका छन् ।  

Share News