८ लाखले उपत्यका छाड्ने अनुमान, यातायात प्रणाली चुस्त राखिने

काठमाडौं । निर्वाचनसँगै लामो बिदा परेकाले ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । निर्वाचन आसपासमा करिव एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरुले काठमाडौं छोड्ने तयारी गरेका छन् ।

सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको बिदा परेको छ । यस्तै फागुन १९ गते तराईमा फागू पूर्णिमाको बिदा परेको छ । फागुन २३ गते शनिबार र २४ गते अर्थात ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसको विदा परेको छ । यसरी फागुन १८ देखि २४ सम्म सात दिन बिदा हुनेभएपछि दशैँ तिहारमा जस्तै यसपटक आगामी हप्तामा धेरैले उपत्यका बाहिर जाने तयारी गरेका छन् ।

यातायात व्यवसायीहरुकाअनुसार अहिलेबाटै उपत्यका छाड्नेहरु बढेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले ६–७ दिनको सार्वजनिक बिदाको कारणले सार्वजनिक यातायातमा चाप पर्न थालेको बताए । १९ गतेसम्मका लागि लामोदूरीका गाडीहरुमा भीडभाड रहेको उनकाे भनाइ छ ।

सिटौलाकाअनुसार १७, १८,१९ गते थेगिनसक्नु भीड छ । धेरैले गाडी रिजर्व समेत गर्न थालिसकेका छन् ।

सिटौलाले भने–‘६/७ दिनको बिदाका कारण काठमाडौं उपत्यकाबाट निकै धेरै यात्रुहरु उपत्यकाबाट घरतर्फ जाने हामीले देखिरहेका छौँं । जानेक्रम शुरु भइसकेको छ । आम निर्वाचनको क्रमलाई लिएर सुरक्षा निकायहरु समेत आफ्नो कार्यक्षेत्रमा गइसकेको अवस्था पनि छ । करिव ८–९ लाखको हाराहारीमा आआफ्नो गृहजिल्लामा जाने क्रम शुरु भइसकेको छ ।’

उनले निर्वाध रुपमा सार्वजनिक यातायातबाट नागरिकलाई सुरक्षित गन्तव्यमा पुर्याइने बताउँदै अपुग भए नेपाली सेनादेखि स्कुल, कलेजका सवारी साधनसमेत सरकारले प्रयोग गरेर चलाउने बताए । 

Share News