डिजिटल मार्केटले सुकायो झण्डा व्यापार

व्यवसायी भन्छन्- कारोबार करोडौंमा हुन्थ्यो, लाखमा झर्यो

काठमाडौं । विगत २२ वर्षदेखि बागबजारमा चुनावी सामग्रीको व्यापार गर्दै आएका नरेश चौधरी यसपटकको बजार देखेर अचम्मित भएका छन् । ‘विगतमा ७/८ जना कामदार राखेर दिनरात काम गर्दा पनि भ्याइनभ्याइ हुन्थ्यो, करोडमाथि कारोबार हुन्थ्यो,’ उनी सुनाउँछन्, ‘अहिले त ३/४ जना कामदार छन् । कारोबार पनि १७ लाखको हाराहारीमा झरेको छ ।’

चौधरीको अनुभवमा यसपटक पार्टीका झण्डाहरूको माग न्यून छ । उनीकहाँ सुरुमा मातृभूमि पार्टीको झण्डा बनाउन माग आयो । त्यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उनी कहाँ नै पार्टीको झण्डा बनायो । फेरि नेपाली कांग्रेसबाट पनि माग भयो । तर, नेकपा एमालेको पार्टीको झण्डाका लागि भने उनी कहाँ खासै ठूलो माग आएन । 

उनका अनुसार २०७४ सालको निर्वाचनमा उनले १ करोडभन्दा बढीको कारोबार गरेका थिए । तर, यसपटक उनको कारोबार १७ लाख रुपैयाँमा झरेको छ । उनका अनुसार यसपटक कांग्रेसले २५ हजार र रास्वपाले २० हजार झण्डा खरिद गरेको छ । 

बागबजारकै व्यवसायी माया चौधरीको कथा पनि उस्तै छ । ‘विगतका चुनावमा २० लाखभन्दा बढीको कारोबार हुन्थ्यो, यसपालि त १२/१५ लाख पुग्न पनि गाह्रो छ,’ उनले विकासन्युजसँग भनिन् । 

व्यापार घट्नुको मुख्य कारण अहिलेको बदलिँदो प्रचार शैली भएको उनको बुझाइ छ । ‘अहिले मान्छेहरू झण्डा बोकेर हिँड्नुभन्दा टिकटक र फेसबुकमा भिडियो बनाएर प्रचार गर्न रुचाउँछन् । सामाजिक सञ्जालले हाम्रो भौतिक व्यापार खाइदियो,’ उनले भनिन् । 

चौधरीका अनुसार यसपटक नेपाली कांग्रेसका सामग्रीको माग केही बढी देखिए पनि समग्र कारोबारमा भने ह्रास आएको छ । टिकटकजस्ता सामाजिक सञ्जालमार्फत प्रचार सुरु भएपछि भौतिक रूपमा झण्डा र टोपीको माग घटेको उनी सुनाउँछिन् ।

सामाजिक सञ्जालको बढ्दो प्रयोग र प्रचार शैलीमा आएको परिवर्तनले चुनावी सामग्रीको व्यापारमा उल्लेख्य गिरावट आएको व्यवसायीहरू बताउँछन् । अघिल्ला वर्षहरूमा जस्तो व्यापार नभएको र यस वर्ष झण्डाको माग निकै कम आएको उनीहरूको भनाइ छ । 

यसपटक झण्डाको मूल्यमा पनि गिरावट आएको छ । एउटा सामान्य झण्डा १५ रुपैयाँमा बिक्री भइरहेको छ भने पुराना स्टकका कारण केही ठाउँमा १४ रुपैयाँमै पनि झण्डा उपलब्ध छन् । टोपी ८० देखि १०० रुपैयाँ र ब्याचहरू २० देखि २५ रुपैयाँमा बिक्री भइरहेका छन् । 

यसअघि एउटा झण्डा २० रुपैयाँमा बेच्ने गरेका थिए । तर यसपटक १५ रुपैयाँमा बेचेको चौधरीले बताइन् । बागबजारकै व्यवसायी कल्याणी कार्कीलाई पनि चुनावी बजारले खासै छुन सकेको छैन । उनको पसलमा एमालेको झण्डाको माग केही बढी भए पनि समग्र बजार सुस्त छ । 

‘पार्टीहरूले पैसा खर्च नगरेर हो कि वा मान्छेहरू नै कम उत्साहित भएका हुन्, पहिलेको जस्तो रौनक छैन,’ कार्की भन्छिन् । उनले यो अवधिसम्म ५० हजारको मात्रै कारोबार भएको सुनाइन् ।

व्यवसायीहरूका अनुसार बागबजारबाट उत्पादित यी सामग्रीहरू काठमाडौंमा मात्र सीमित छैनन् । यहाँबाट सप्तरी, बाग्लुङ, बारा, पर्सा र सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा सामग्रीहरू पठाइन्छ । तर, अर्डरको परिमाण विगतका चुनावको तुलनामा निकै कम छ ।

उसो त पछिल्लो समय नेपाली राजनीतिमा भित्रिएको डिजिटल युगले बागबजारका यी रैथाने व्यापारीहरूलाई मारमा पारेको छ । चुनाव त आयो, तर बागबजारका मेसिनहरूले विगतको जस्तो तीव्र गतिमा झण्डा सिलाउन पाएनन् । दलहरूको चुनाव चिन्ह अब कपडामा भन्दा बढी मोबाइलको स्क्रिनमा देखिन थालेको छ । 

फागुन २१ गतेको चुनाव आउन अब ६ दिन मात्रै बाँकी छ । अहिले विभिन्न राजनीतिक दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । नेताहरूलाई नागरिकको घरदैलोमा पुग्न भ्याइनभ्याई छ । तर, उनीहरूले झण्डाको प्रयोग उल्लेख्य रूपमा प्रयोग नगर्दा व्यवसायीको व्यवसाय सुकेको छ । 

राजनीतिक दलका झण्डा बनाउने मुख्य ठाउँ बागबजार नै हो । चुनाव नजिकिँदै गर्दा काठमाडौंको बागबजारका पसलहरु राजनीतिक दलका झण्डा, टोपी र ब्याचहरूले रंगिनुपर्ने हो । तर, यसपटक बागबजारका गल्लीहरूमा विगतको जस्तो उत्साह र चाप देखिँदैन ।

Share News