काठमाडौं । भारतको राजधानी दिल्लीको राउज एवेन्यू अदालतले मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मामिलामा दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई सफाइ दिएको छ ।
यसका साथै अदालतले आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियालाई पनि आरोपमुक्त गरेको छ ।
अदालतको यो फैसला केन्द्रीय अनुसन्धान एजेन्सी (सीबीआई) द्वारा दायर गरिएको मुद्दामा आएको हो ।
‘लाइभ ल’ का अनुसार फैसला सुनाउँदै अदालतले सीबीआईको अनुसन्धानमा रहेका कमजोरीहरूमाथि कडा टिप्पणी समेत गरेको छ । अदालतले भनेको छ कि हजारौं पानाको चार्जसिटमा त्यस्ता सामग्रीहरू छन् जसले कुनै पनि साक्षीको बयानलाई समर्थन गर्दैनन् ।
विशेष न्यायाधीश जितेन्द्र सिंहले चार्जसिटमा ‘भ्रामक दाबीहरू’ गरिएको बताए ।
अदालतले सिसोदियाविरुद्ध प्रिमा फेसी मुद्दा स्थापित गर्न सीबीआई असफल भएको उल्लेख गर्यो । यसका साथै न्यायाधीशले केजरीवाललाई कुनै ठोस प्रमाणबिना नै यस मामिलामा मुछिएको पनि बताए ।
राउज एवेन्यू अदालतले दुवै नेतासहित यस मामिलाका सबै २३ अभियुक्तहरूलाई आरोपमुक्त गरिदिएको छ ।
अदालतको फैसलामा अरविन्द केजरीवालले प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनी भावुक देखिएका थिए ।
केजरीवालले भने, ‘विगत केही वर्षदेखि भारतीय जनता पार्टीले जुन किसिमले हामीमाथि आरोप लगाइरहेको थियो, आज अदालतले ती सबै आरोप खारेज गरिदियो र जति पनि अभियुक्त थिए, सबैलाई आरोपमुक्त गरिदियो ।’
दिल्लीका पूर्वमुख्यमन्त्रीले आफूलाई भारतीय न्याय प्रणालीमाथि विश्वास रहेको बताए । उनले भने, ‘सत्यको जित भएको छ ।’
यसबाहेक केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहमाथि पनि निशाना साध्दै पूरा मामिलालाई ‘फर्जी’ (झुटा) बताएका छन् ।
उनले भने, ‘मोदीजी र अमित शाहजीले मिलेर आजाद भारतको सबैभन्दा ठूलो राजनीतिक षड्यन्त्र रचे । आम आदमी पार्टीलाई सिध्याउनका लागि पार्टीका पाँच सबैभन्दा ठूला नेताहरूलाई जेलमा हाले, यहाँसम्म कि बहालवाला मुख्यमन्त्रीलाई समेत जेल हालियो ।’
यस क्रममा केजरीवाल भावुक हुँदै भने, ‘केजरीवाल भ्रष्ट छैन । मैले आफ्नो जीवनमा केवल इमानदारी कमाएको छु । उनीहरूले झुटा मुद्दा लगाए र आज त्यो प्रमाणित भयो ।’
अदालतको फैसलामा अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले पनि प्रतिक्रिया दिएकी छन्। उनले एक्सु (पूर्व ट्विटर) मा लेखेकी छन्, ‘सत्यको सधैँ जित हुन्छ ।’