काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त आयोजनामा बिहीबार ललितपुरस्थित होटल स्क्वायरमा ‘एकल कृषि कर्जा सुरक्षण योजना’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने र आम जनताको कर्जामा पहुँच पुर्याउने उद्देश्यका साथ कोष र यूएनडीपीले नौवटा स्थानीय तहहरूसँगको साझेदारीमा एक नमुना परियोजना अघि बढाएका छन् ।
यसै परियोजना अन्तर्गत तयार पारिएको ‘एकल (ऋणीगत) कर्जा सुरक्षण’ स्किमको मस्यौदामाथि वाणिज्य बैंकहरूको राय र सुझाव संकलन गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, हिमालयन बैंक र एनएमबी बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सहभागी बैंकका प्रतिनिधिहरूले प्रस्तावित स्किमको मस्यौदामाथि व्यावहारिक र प्राविधिक सुझावहरू प्रस्तुत गरेका थिए ।
यो योजना कार्यान्वयनका लागि छुट्टै कोष खडा गरिने र छानिएका नौ स्थानीय तहहरूमा तोकिएका कृषि क्षेत्रमा लगानी गरिने लक्ष्य राखिएको जनाइएको छ ।
कार्यक्रमको समापनमा कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले बैंकहरूबाट प्राप्त सुझावहरूलाई थप छलफल गरी ग्रहणयोग्य सुझावहरूलाई समावेश गर्दै स्किमलाई अन्तिम रूप दिइने प्रतिबद्धता व्यक्त गरे ।
कोषले यस सहकार्य मार्फत कृषि क्षेत्रमा वित्तीय जोखिम न्यूनीकरण गरी बैंकिङ क्षेत्रलाई कृषि कर्जामा थप उत्साहित बनाउने विश्वास लिएको छ ।