काठमाडौं । किङ्स कलेजअन्तर्गत सञ्चालन हुँदै आएको ‘ओथारो इन्क्युबेशन कार्यक्रम’ को पाँचौं कोहोर्ट शुक्रबारदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ ।
यस कार्यक्रमअन्तर्गत छनोट भएका १२ वटा स्टार्टअपहरू आगामी छ महिनासम्म आफ्ना प्रारम्भिक प्रोटोटाइप र परियोजनालाई व्यावसायिक स्तरमा पुर्याउन सघन तयारीमा जुटेका छन् ।
नेपालको स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउने र उद्यमशीलता प्रवर्द्धन गर्ने दीर्घकालीन लक्ष्यका साथ यो नयाँ चरण सुरु गरिएको कलेजले जनाएको छ ।
यस पटकको इन्क्युबेशन कार्यक्रममा मिस्टर वाफल्स, टुमलेट गेम्स, एथर सोसल ल्याब, स्टुडियो ब्रिटान्ता र नलेजएप लगायतका स्टार्टअपहरू सहभागी छन् । त्यस्तै, इ–सहारा, परामेन्डो नेपाल, लेक्साना, द नेपाल न्यूजलेटर, यार्सा एग्रो रिसर्च, सानो इन्जिनियर र सम्पर्क डिजिटल लयल्टी जस्ता नवप्रवर्तनकारी परियोजनाहरूलाई पनि यो समूहमा समेटिएको छ ।
यी स्टार्टअपहरूले आगामी छ महिनासम्म निरन्तर सिकाइ कार्यशाला, कोचिङ सेसन र आवश्यकतामा आधारित व्यावसायिक मार्गदर्शन प्राप्त गर्नेछन् ।
छनोट भएका टोलीहरूलाई सुदृढ व्यवसायिक मोडल विकास गर्न र भविष्यमा तीव्र वृद्धिका लागि आवश्यक योजना निर्माणमा कलेजले विशेष सहयोग पुर्याउनेछ । इन्क्युबेशन अवधिभर उनीहरूले क्षेत्रविशेषका वित्तीय पहुँच र नेटवर्किङ अवसरहरूमा समेत सहभागिता जनाउन पाउनेछन् । प्रारम्भिक चरणका स्टार्टअपहरूलाई दिगो विकासका लागि आवश्यक सीप, सोच र उपकरण उपलब्ध गराउनु नै ओथारोको मुख्य उद्देश्य रहेको कलेजको भनाइ छ ।
सन् २०१३ मा स्थापना भएदेखि ओथारो इन्क्युबेशन कार्यक्रमले हालसम्म ५० भन्दा बढी उद्यमलाई व्यावसायिक सफलताका लागि सहयोग पुर्याइसकेको छ । प्रोटोटाइप विकास गरिसकेका वा बिक्री प्रक्रिया सुरु गरिसकेका स्टार्टअपहरूका लागि यो कार्यक्रम एउटा रणनीतिक प्लेटफर्म साबित हुँदै आएको छ ।
यस पटक सहभागी भएका टोलीहरूले छ महिनाको अवधिमा आधारभूत रणनीति, सञ्चालन संरचना र दीर्घकालीन दृष्टिकोणलाई सुदृढ गर्दै नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत अवसर खोज्न सक्ने क्षमता विकास गर्ने अपेक्षा गरिएको छ ।