काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औँ वर्षमा प्रवेश गरेको छ ।
चार दशक लामो यात्रामा बैंकले ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार संस्था तथा सम्पूर्ण कर्मचारीहरूको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको जनाएको छ । यस अवसरमा बैंक परिवारले हार्दिक आभार व्यक्त गरेको छ ।
४०औँ वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारासहित बैंकले ग्राहक सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवा प्रस्तुत गरिरहने जानकारी उनले दिए ।
वार्षिकोत्सवको अवसर पारेर बैंकले विगत आठ वर्षदेखि वित्तीय साक्षरतामा आधारित चित्रपुस्तक प्रकाशन गर्दै आएको जनाएको छ । यस वर्ष बैंकले आफ्नो आठौँ संस्करण ‘३ आर सुन्दर संसार’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरेको छ । पुस्तकमा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोत संरक्षण र ग्लोबल वार्मिङजस्ता विषयलाई सरल, रोचक र ज्ञानवर्धक शैलीमा प्रस्तुत गरिएको बैंकले जनाएको छ ।
वातावरणमा भइरहेको तीव्र परिवर्तनले स्वास्थ्य, भविष्य र पृथ्वीलाई गम्भीर चुनौती दिइरहेको सन्दर्भमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बालबालिकामा चेतना अभिवृद्धि गर्न पुस्तक प्रकाशन गरिएको हो ।
यसैबीच, वार्षिकोत्सव दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । कार्यक्रममा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो ।