काठमाडौं । बर्दघाट एसएमई भिलेज समुन्नत नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरूले गरेका छन् । नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तरक्रियामा लगानीकर्ताहरूले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले परिसंघ उद्यमशीलता प्रवर्द्धन गर्न सधैं तत्पर रहेको भन्दै बर्दघाट एसएमई भिलेजलाई मोडल ग्राम बनाउन पाइलट प्रोजेक्टका रूपमा अगाडि बढाउनुपर्ने बताए । उनले बर्दघाट एसएमई ग्राममार्फत यस क्षेत्रमा साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्न सकिने बताए । उद्योग स्थापना गर्दा लाग्ने लगानीमध्ये एक तिहाइ जग्गामा गर्नुपर्ने बाध्यता रहेकाले औद्योगिक ग्रामको विकास आवश्यक रहेकोमा उनले जोड दिए ।
नवलपरासी जिल्लामा ठूला उद्योगहरू स्थापित भइसकेका, सडक पूर्वाधार बनेकाले पनि यस क्षेत्रमा साना तथा मझौला उद्योगको विकास गर्न सकिने उनको भनाइ थियो । उद्योग विकास गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण भएका नेतृत्वकर्ताका कारण यस क्षेत्रमा उत्पादनमूलक उद्योगहरू बढ्नेमा उनले विश्वास व्यक्त गरे । कार्यवाहक अध्यक्ष चौधरीले परिसंघले ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको जानकारी गराउँदै बर्दघाट एसएमई ग्रामको विकासका लागि पनि आवश्यक भूमिका खेल्ने बताए ।
नेपाल सरकारका पूर्व सचिव अर्जुन पोखरेलले एक पालिका एक औद्योगिक ग्राम अवधारणा अनुसार बर्दघाट एसएमई भिलेज अगाडि बढाइएको बताए । उनले निजी क्षेत्रसँगको सहकार्य तथा सहयोग बिना औद्योगिक ग्राम सफल हुन नसक्ने भन्दै ग्रामलाई सफल बनाउन निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले उद्योग ग्रामले औद्योगिकीकरणमा टेवा दिने बताए । उनले गोल्छा ग्रुप यस क्षेत्रमा उद्योग ल्याउने सन्दर्भमा सकारात्मक रहेको समेत बताए । देशमा रोजगारीको ठूलो समस्या रहेको, रोजगारी नभएकै कारण ठूलो संख्यामा युवा जनशक्ति विदेशिएको भन्दै उनले रोजगारी निजी क्षेत्रले दिने भएकाले उद्योग स्थापना अनिवार्य रहेको बताए ।
उद्योग स्थापना हुँदा धुलो, धुवाँ आउन सक्ने भएकाले यसलाई सामान्य रूपमा लिन सक्नुपर्नेमा उनले जोड दिए । उद्योग स्थापना भए रोजगारी बढ्ने, अर्थतन्त्रको विकास हुने भएकाले उद्योग स्थापना अनिवार्य रहेको उनले बताए । उनले उद्योग ग्राम बनेपछि धेरै संख्यामा उद्योगहरू सञ्चालनमा आउने विश्वास गरे । उनले १०० अर्ब डलरको अर्थतन्त्र बनाउन लगानी प्रोत्साहन आवश्यक रहेको र कानुन अनुसार गरेको प्रतिफलको सम्मान सबैले गर्न सक्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवालले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योगहरूको योगदान घटेर ५ प्रतिशतमा आइसकेको भन्दै जीडीपीमा उद्योगहरूको योगदान कसरी बढाउन सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने बताए । बंगलादेश र भारतले सफल रूपमा औद्योगिक पार्क सञ्चालन गरिरहेको र उनीहरूको अर्थतन्त्रमा योगदान दिएको भन्दै उनले हाम्रोमा पनि उनीहरूले दिएको जस्तो सुविधा दिएर औद्योगिक पार्क/ग्राम सफल बनाइनुपर्ने बताए । उद्योग विकासका लागि स्थानीय नेतृत्वकर्ताको स्पष्ट दृष्टिकोण/मनस्थितिले ठूलो काम गर्ने भएकाले नवलपरासीमा उद्योगहरूको संख्या बढिरहेको उनले बताए । यस क्षेत्रमा पनि एमएडब्लू स्किल एकेडेमी विस्तार गर्न इच्छुक रहेको उनले बताए । एमएडब्लू स्किल एकेडेमी काठमाडौं र जनकपुरमा सञ्चालनमा आइसकेको छ ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ताले स्थानीयको सहयोगका कारण एक वर्षभित्रै आफूले बर्दघाटमा कजरिया टायल उद्योग स्थापना गर्न सफल भएको बताए । उनले यस क्षेत्रमा ठूला उद्योगसँगै साना तथा मझौला उद्योग पनि चाहिने भएकाले बर्दघाट एसएमई भिलेजलाई सफल बनाउनुपर्ने बताए । ठूला उद्योगसँगै साना उद्योग स्थापना गर्न सकिए त्यसले मूल्य अभिवृद्धि गर्न, ठूला उद्योगको लागत घटाउन सहयोग गर्ने र रोजगारी सिर्जनामा मद्दत गर्ने बताए । ठूलो उद्योगसँगै साना उद्योग विकास गर्ने यस्तै मोडल देशका अन्य ठाउँमा पनि विस्तार गरिनुपर्नेमा उनले जोड दिए ।
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले साना उद्योगहरूको प्रवर्द्धनका लागि औद्योगिक ग्राम आवश्यक रहेको बताए । उनले स्थानीय उत्पादनसँगै राष्ट्रिय स्तरमा स्थापित उद्योगहरूले यस क्षेत्रमा उद्योग स्थापना गर्ने विश्वास व्यक्त गरे ।
उद्योग व्यापार संघ बर्दघाटका उपाध्यक्ष लिलाहरी पौडेलले बर्दघाटको भौगोलिक पहुँच उद्योग स्थापनाका लागि महत्त्वपूर्ण रहेको बताए । भारतसँगको सीमाना नजिक रहेकाले कच्चा पदार्थ आयात तथा उत्पादित वस्तु निर्यातमा सहजता रहेको उनले बताए । साथै, विद्युत, यातायात सञ्जाल, दक्ष तथा अर्धदक्ष जनशक्तिको उपलब्धताले लगानीकर्तालाई आकर्षित गर्ने विश्वास उनले व्यक्त गरे । उनले यस क्षेत्रमा कृषि तथा कृषिमा आधारित उद्योग, लघु तथा साना उद्योग, पर्यटन तथा धार्मिक पर्यटन, गोदाम, ढुवानी तथा लजिस्टिक सेवा, ऊर्जा तथा हरित उद्योगका लागि उपयुक्त रहेको बताए ।
नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले यस क्षेत्र रुपन्देहीसँग नजिक रहेको, सडक पूर्वाधार, विद्युतलगायतका सुविधाका कारण नयाँ उद्योगहरू सञ्चालन गर्न सहज हुने बताए । उनले बर्दघाट एसएमई भिलेजमा ठूला उद्योगसमेत ल्याउन सक्ने गरी अगाडि बढ्नुपर्ने बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यस क्षेत्र कृषि, पर्यटनसँगै ठूला उद्योगहरूका लागि राम्रो सम्भावना देखिएको बताए । २५० भन्दा बढी वित्तीय संस्थाहरूको उपस्थिति यस क्षेत्रमा रहेकाले वित्तीय पहुँच सहज रहेको उनले बताए । नबिल बैंकले उद्यमशीलता, सीप विकासजस्ता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै सबै किसिमले यस क्षेत्रमा उद्योग स्थापनाका लागि उपयुक्त देखिएको उनले बताए ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले देशमै केही गर्छु भनेर युवाहरूले उद्यम गरिरहेको भन्दै यस्ता उद्यमी युवाहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । युवाहरू विदेश पलायन भइरहेको अवस्थालाई आत्मसात् गरी उद्यमशीलता प्रवर्द्धनमा सहयोग गर्ने नीतिले मात्रै उनीहरूलाई देशमै रोकेर उद्यमी बन्न प्रोत्साहित गर्ने उनले बताए ।
सो अन्तरक्रियामा सय जनाभन्दा बढी उद्योगी, व्यवसायीहरूको सहभागिता रहेको थियो ।