काठमाडौं । एशियन पेन्ट्स (नेपाल) ले सन् २०२५ मा ५ अर्ब ८९ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २६.१८ प्रतिशत अर्थात् १ अर्ब २२ करोड ४० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ६७ करोड ४० लाख रुपैयाँमा सीमित भएको थियो ।
आर्थिक मन्दीका कारण सन् २०२४ मा आम्दानीमा उल्लेख्य गिरावट आए पनि सन् २०२५ मा कम्पनीले पुनः सुधार हासिल गरेको जनाएको छ । उत्पादन तथा बिक्री विस्तार र बिक्री मूल्यमा सुधारसँगै सञ्चालन नाफा मार्जिन पनि बढेर करिब १४ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष करिब ९ प्रतिशत थियो ।
यसअघि कम्पनीले सन् २०२३ मा ७ अर्ब ८० करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा ८ अर्ब ५७ करोड ४० लाख रुपैयाँ, सन् २०२१ मा ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ३१ करोड रुपैयाँ, सन् २०१९ मा ६ अर्ब १६ करोड ७० लाख रुपैयाँ, सन् २०१८ मा ५ अर्ब ३४ करोड ७० लाख रुपैयाँ, सन् २०१७ मा ४ अर्ब १३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीले विगतका वर्षहरूमा नाफाको ठूलो हिस्सा सञ्चित गर्दै आएको छ । पछिल्ला पाँच वर्षमा करपछिको नाफाको औसत करिब ३५ प्रतिशत मात्र लाभांशका रूपमा वितरण गरिएको छ । यसका कारण सन् २०२५ जुलाई मध्यसम्म कम्पनीको खुद सम्पत्ति (नेटवर्थ) करिब ७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यसमध्ये करिब ९९ प्रतिशत सञ्चित आम्दानी रहेको छ भने करिब ७१ प्रतिशत नगद सञ्चितिका रूपमा रहेको छ ।
सन् १९८३ मे महिनामा स्थापना भएको एशियन पेन्ट्स नेपालमा रङ उत्पादन तथा बिक्रीमा संलग्न अग्रणी उद्योगका रूपमा परिचित छ । कम्पनीको हालको स्वीकृत उत्पादन क्षमता वार्षिक करिब १ लाख १ हजार ८ सय मेट्रिक टन रहेको छ । कम्पनी भारतको एशियन पेन्ट्स लिमिटेडको सहायक कम्पनी हो । कम्पनीमा एशियन पेन्ट्स लिमिटेडको करिब ५३ प्रतिशत सेयर स्वामित्व रहेको छ भने भारतकै रबी एसोसिएट्सको करिब ९ प्रतिशत हिस्सा रहेको छ । बाँकी सेयर २६ जना व्यक्तिगत सेयरधनीको स्वामित्वमा रहेको छ ।
कम्पनीको उत्पादन कारखाना मकवानपुर जिल्लाको हेटौंडा औद्योगिक क्षेत्रमा अवस्थित छ । कम्पनीले ४४ वटा फरक–फरक ब्रान्डअन्तर्गत सिमेन्ट पेन्ट, इमल्सन, डिस्टेम्पर, नाइफिङ पेस्ट, सोल्भेन्ट तथा प्राइम अन्डरकोट लगायतका विभिन्न रङजन्य उत्पादनहरू निर्माण तथा बिक्री गर्दै आएको छ । यसका अतिरिक्त, कम्पनीले क्रोम चढाइएका बाथरुम फिटिङ्स जडान (असेम्बली) उद्योग पनि सञ्चालनमा ल्याएको छ ।
यसमार्फत कम्पनीले आफ्नो उत्पादन दायरा विस्तार गर्दै रङ उद्योगसँगै बाथरुम सामग्री क्षेत्रमा समेत उपस्थिती बलियो बनाउने रणनीति अघि बढाएको छ । सन् २०२५ जुलाई मध्यसम्म कम्पनीको तरलता अवस्था सुदृढ रहेको छ । सो अवधिसम्म कम्पनीसँग करिब ५ अर्ब २० करोड रुपैयाँ बराबरको ब्यालेन्स सिटमा देखिने तरल स्रोत उपलब्ध छ । साथै ९० दिनभन्दा कम अवधिलाई आधार मानेर करिब १ अर्ब रुपैयाँ बराबरको अप्रयुक्त कर्जा सीमा (ड्रइङ पावर) पनि रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ ।