काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बिहीबार लुम्बिनी र कर्णाली प्रदेशका दुई जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले सुर्खेत र बाँकेमा चुनावी कार्यक्रम तय गरेको हो ।
नेपाली कांग्रेस लुम्बिनीका सभापति अमर सिंह पुनका अनुसार शीर्ष नेताहरूको उपस्थितिमा एकैदिन दुवै जिल्लामा आमसभा आयोजना गर्न लागिएको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घण्टाघर डबलीमा मध्याह्न साढे १२ बजे सभा सुरु हुने कार्यक्रम तय गरिएको छ । उक्त सभामा सभापति थापासँगै पार्टीकी उपसभापति पुष्पा भुसालले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
सुर्खेतको कार्यक्रम सकेलगत्तै कांग्रेसको टोली बाँकेतर्फ प्रस्थान गर्नेछ । बाँके–३ अन्तर्गत जानकी गाउँपालिका–३ मानपुरमा दिउँसो साढे १ बजे चुनावी सभा आयोजना गरिएको जनाइएको छ । प्रदेश सभापति तथा बाँके–३ का उम्मेदवार अमर सिंह पुनका अनुसार मानपुरमा पनि सभापति थापाले मुख्य सम्बोधन गर्नेछन् ।
निर्वाचन नजिकिँदै जाँदा कांग्रेसले जिल्ला–जिल्लामा चुनावी अभियान तीव्र बनाएको जनाएको छ ।