काठमाडौं । नेपालको प्रतिष्ठित रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदी अरबको डिजिटल वालेट ‘टिक्मो’ (TIQMO) बीच डिजिटल कारोबार विस्तारका लागि महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ ।
साउदी अरबको राजधानी रियादमा आयोजित एक विशेष समारोहका बीच आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा साउदीका लागि नेपालकी कार्यबाहक राजदूत सिर्जना अधिकारी लगायत दुवै कम्पनीका उच्चाधिकारीहरूको उपस्थिति रहेको थियो ।
यो साझेदारीले नेपाल र साउदी अरबबीच एक ‘डिजिटल वित्तीय कोरिडोर’ निर्माण गर्ने लक्ष्य राखेको छ, जसले परम्परागत रकम पठाउने माध्यमलाई आधुनिक र डिजिटल प्रविधिमा रूपान्तरण गर्नेछ ।
साउदी अरबको ‘भिजन २०३०’ अन्तर्गतको नगदरहित समाज बनाउने अभियान र नेपालको बढ्दो डिजिटल वित्तीय पहुँचलाई यो सम्झौताले थप बल पुर्याउने विश्वास लिइएको छ ।
टिक्मोसँगको सहकार्यले साउदीको जुनसुकै कुनाबाट पनि सुरक्षित र सहज रूपमा नेपालमा रकम पठाउन सुनिश्चितता प्रदान गरेको छ ।
सम्झौताकै अवसरमा आइएमईले ‘टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ’ नामक प्रवद्र्धनात्मक योजना पनि सार्वजनिक गरेको छ ।
पौष २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने यस योजना अन्तर्गत साउदीमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरी आइएमईमार्फत पैसा पठाउँदा विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् । टिक्मो साउदीमा अन्तर्राष्ट्रिय रकम ट्रान्सफर र बिल भुक्तानीका लागि लोकप्रिय डिजिटल वालेट हो ।
विगत २२ वर्षदेखि रेमिटेन्स सेवामा सक्रिय आइएमईले हाल नेपालका ७७ वटै जिल्लामा रहेका १२ हजारभन्दा बढी सब-एजेन्ट र बैंक तथा वित्तीय संस्थामार्फत सुरक्षित तवरले रकम वितरण गर्दै आइरहेको छ ।
यो नयाँ सम्झौताले विदेशमा रहेका नेपालीहरूको मेहनतको कमाइलाई आफ्ना आफन्तको हातसम्म पुर्याउन अझ छिटो र भरपर्दो माध्यम प्रदान गर्ने कम्पनीले जनाएको छ ।