काठमाडौं । आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज फागुन १४ गते अन्तिम दिन रहेको छ । फागुन ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको ऋणपत्रमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।
फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ बिक्री खुला गरेको हो । फाइनान्सले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र बिक्री गरेको हो ।
जसमध्ये ३० करोड रुपैयाँको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत र २० करोड रुपैयाँको २ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बिक्री गरिएको जनाएको छ ।
कम्पनीको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । फाइनान्सको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।