भारतले हालसम्म निर्वाचन प्रयोजनका लागि दियो ५३८ वटा गाडी, कुन निकायले कति पाए ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले अनुदानमा उपलब्ध गराउने भनेको ६ सय ५० वटा गाडीमध्ये हालसम्म ५ सय ३८ वटा गाडी नेपाल आइपुगेका छन् । 

गृह मन्त्रालयको सवारी शाखाका अनुसार बाँकी रहेका ११२ वटा गाडी आउने क्रममा रहे पनि ती कहिले आइपुग्छन् भन्नेबारे मन्त्रालयलाई आधिकारिक जानकारी प्राप्त भइसकेको छैन ।

भारतले निर्वाचन प्रयोजनका लागि महेन्द्र ब्राण्डका बोलेरो जीप, स्कारपियो र स्कारपियो पिकअप उपलब्ध गराएको हो ।

प्राप्त भएका गाडीहरूलाई  निर्वाचन आयोग, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूमा आवश्यकता अनुसार वितरण गरिसकेको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य (सुवेदी) ले जानकारी दिइन् । 

निर्वाचनको तयारी र अनुगमनका लागि आयोगलाई ८७ वटा गाडी उपलब्ध गराइएको छ भने नेपाल प्रहरीलाई सुरक्षा व्यवस्थापनका लागि सबैभन्दा धेरै १ सय ९५ वटा गाडी प्रहरी प्रधान कार्यालयलाई दिइएको छ । 

null

नेपाल प्रहरीका अनुसार यी गाडीहरू काठमाडौं उपत्यका र बाहिरका विभिन्न युनिटहरूमा पठाइनेछ । यस्तै, सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा र निर्वाचन सुरक्षाका लागि ९३ वटा गाडी प्रदान गरिएको छ । राष्ट्रिय अनुसन्धान विभाग लाई १० वटा गाडी विभागलाई दिइएको मन्त्रालयले बताएको छ । 

यसबाहेक गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय, कारागार कार्यालय र जिल्ला प्रशासन कार्यालयहरूलाई पनि गाडी उपलब्ध गराएको छ । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलनका क्रममा गाडी आगजनी भएका जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष प्राथमिकतामा राखेर धेरै सङ्ख्यामा गाडी वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी निर्वाचनलाई थप सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकायहरूले आफ्नै स्रोतबाट पनि गाडी खरिद प्रक्रिया अघि बढाएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले कुल ३७७ वटा गाडी खरिद गर्ने तयारी गरेका छन् भने प्रहरीले १० वटा विद्युतीय सवारीसाधन (ईभी) गाडी खरिद गरिरसकेको छ । बाँकी ७५ वटा गाडी निर्वाचनअघि नै आइपुग्नेछन् । यसका साथै थप १०० वटा गाडी खरिदका लागि प्रहरीले टेण्डर (बोलपत्र) प्रक्रिया अगाडि बढाएको छ ।

भारतीय दूतावासको तथ्यांकअनुसार पछिल्ला १८ वर्षमा निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई करिब ३ हजार सवारीसाधन उपलब्ध गराइसकेको छ । 

हरेक निर्वाचनमा भारतले नेपाललाई सवारीसाधन उपलब्ध गराउँदै आएको छ । 

null

Share News