काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नं ३१ का सिंह बुधबार पक्राउ परेका हुन् भने धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ का तिवारी मंगलबार पक्राउ परेका हुन् ।
हालसम्म उक्त कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमाका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका सेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
अभियुक्तहरूले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बीमा रकम दाबी गरी गैरकानुनी रुपमा आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।
यसअघि सीआईबीले ४४ वर्षीय डा. गीर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको थियो ।
त्यस्तै, माघ ११ गते सीआईबीले पर्वतीय क्षेत्रबाट नक्कली उद्धार कागजात तयार गरी ठगी गरेको आरोपमा विभिन्न ट्राभल एजेन्सीका ६ जनालाई पक्राउ गरिएको जानकारी दिएको थियो ।
फेक रेस्क्युको असर : बीमा प्रिमियम दोब्बर, नेपाल ‘नो-गो डेस्टिनेसन’ बन्ने खतरा
पौने ३ अर्बको बीमा रकम पचाउने षडयन्त्र, सीआईबीले गर्यो भण्डाफोर