काठमाडौं । धरानमा विमानस्थल बनाउने भनेर रोक्का गरिराखेको जग्गा ६ महिनापछि बिक्रीको लागि खुला गरिएको छ । भदौ ११ गते निवर्तमान नगर प्रमुख हर्क साम्पाङ राईले धरान उपमहानगरपालिका १७ मा रहेको उक्त बिक्री वितरणमा रोक लगाउन सिफारिस गरेका थिए ।
विमानस्थल बन्नेबारे कुनै टुंगो नलागेकाले स्थानीयले जग्गा फुकुवा गर्न अनुरोध गरेकाले उक्त निर्णय लिनु परेको कार्यवाहक मेयर आइन्द्राविक्रम बेघाले जानकारी दिए । लामो समयसम्म व्यक्तिका जग्गाहरू बिना कारण रोक्का राखिरहनु उचित नहुने भएकाले फुकुवा गर्नुपरेको उनको भनाइ छ ।
यति इनकर्पोरेट प्रालिका नाममा भएका जग्गाबाहेक अन्य जग्गाहरूको बिक्री वितरणको सिफारिस गरिएको उनले जानकारी दिए ।
विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक समिति गठन गरेको थियो ।
प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन भएको थियो ।
धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङले नियम संशोधन गरेर भएपनि धरानमा विमानस्थल बनाउने घोषणा गरेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय हवाई नीति, २०६३ लाई देखाउँदै प्राविधिक तथा व्यवहारिक रूपमा समेत सो स्थानमा विमानस्थल निर्माणको सम्भावना नरहेको बताएको थियो ।
