युनाइटेड सिमेन्ट्सले साम्बाको उपचारमा ५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । केएल दुगड समूहअन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

घुँडामा गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको भन्दै सार्वजनिक रूपमा अपिल गरिएपछि कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ । लामो समयदेखि राष्ट्रिय टोलीको अग्रपंक्तिमा रहेर देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएकी भण्डारी हाल चोटका कारण मैदान बाहिर छिन् । पछिल्लो सात हप्तादेखि उनी पुनःस्थापनाको प्रक्रियामा रहेको बताइएको छ ।

'कप्तान सावित्रा भण्डारी हाम्रो देशको गौरव हुन् । उनले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण योगदान दिएकी छन् । उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक उपचारपछि छिट्टै मैदानमा फर्किनेछन् भन्ने हाम्रो विश्वास छ', कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युनाइटेड सिमेन्ट्सले खेलाडीहरू देशको पहिचान र गौरवका वाहक भएकाले उनीहरूको कठिन समयमा साथ दिनु सामाजिक दायित्व पनि भएको उल्लेख गरेको छ । खेल क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च राख्न निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको कम्पनीको धारणा छ ।   

Share News