काठमाडौं । नेपाली महिला फुटबलकी अग्रणी खेलाडी तथा देशको गौरव सावित्रा भण्डारी (साम्बा) यतिबेला आफ्नो खेल जीवनको कठिन मोडमा छिन् । मैदानमा देशको झण्डा उँचो राख्दै उत्कृष्ट प्रदर्शन गर्दै आएकी साम्बा घुँडाको गम्भीर चोटका कारण हाल मैदान बाहिर छिन् ।
यस चुनौतीपूर्ण घडीमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले आफ्नी ब्रान्ड एम्बेसडर साम्बाको उपचार तथा पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
साम्बाको शल्यक्रिया तथा त्यसपछिको करिब आठ महिना लामो पुनर्स्थापना (रिह्याब) प्रक्रियाका लागि पर्याप्त स्रोत आवश्यक पर्ने जनाइएको छ । ‘थाकेको हो, हारेको छैन’ भन्ने साम्बाको अदम्य आत्मबललाई सम्मान गर्दै कम्पनीले उनलाई पुनः मैदानमा फर्काउन सानो योगदान स्वरूप उक्त सहयोग घोषणा गरेको जनाएको छ ।
साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भायानेटले विज्ञप्तिमा उल्लेख गरेको छ, 'देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथमै रहनेछौँ । उहाँ चाँडै निको भएर मैदानमा फर्कनुहुनेछ र देशलाई पुनः गौरवान्वित बनाउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।'
कम्पनीले ब्रान्ड एम्बेसडरप्रति देखाएको तत्परताले कठिन परिस्थितिमा पनि प्रयोगकर्ता र सरोकारवालासँग अटुट सम्बन्ध तथा भरपर्दो कनेक्सन कायम राख्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाएको छ ।