मर्स्याङ्दी जलविद्युतको मर्मत सम्भार धमाधम, फागुन २२ गतेदेखि सुचारु गर्ने

काठमाडौं । तनहुँको आँबुखैरेनीमा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँध, सुरुङ, पावरहाउस लगायतका संरचना मर्मत सम्भार कार्य धमाधम भइरहेको छ । 

६९ मेगावाट क्षमताको सो जलविद्युत केन्द्रबाट अहिले विद्युत् उत्पादन ठप्प भएको सो केन्द्रले जनाएको छ ।

गत फागुन २ गतेदेखि २२ दिनसम्मका लागि विद्युत् उत्पादन बन्द गरी मर्मत कार्य अघि बढाइएको केन्द्रका कर्मचारी शैलेन्द्र भट्टले जानकारी दिए । 

कालीगण्डकी लगायतका विभिन्न आयोजनाबाट मिस्त्री, मजदुर झिकाएर मर्मत कार्य थालिएको हो । उनले भने, ‘बाँधमा बालुवा थुप्रिएका कारण सफा गर्न र गेट भत्किने अवस्थामा पुगिसकेकाले निर्माण कार्य थालिएको हो ।’

सुरुङ र अन्य संरचनाहरूको मर्मत सम्भार गर्नुपर्ने भएको थियो । उनले भने, ‘कार्यालयबाट पूर्व सूचना दिएर आउँदो २२ गतेसम्म उत्पादन बन्द गरिएको हो ।’ 

फागुन २२ गतेदेखि सो आयोजनाको विद्युत् उत्पादन सुचारु गर्ने योजना रहेको सो केन्द्रले जनाएको छ । वि.सं २०४२ देखि सञ्चालन गरिएको मर्स्याङ्दी जलविद्युत आयोजनाको तीन टर्वाइनबाट ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

Share News