५० प्रतिशत महिला बोकेर उठ्यो टिम हेमराज, चन्द्रसहित ८ पूर्वअध्यक्षको साथ

यस्तो छ उम्मेदवारको व्यावसायिक पृष्ठभूमि

काठमाडौं । निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल तातेको छ । यसअघि गोप्य रूपमा आफ्नो पक्षमा चुनावी नतिजा पार्न व्यस्त व्यवसायीहरू सोमबारदेखि सार्वजनिक मञ्चबाट पनि चुनावी अभियानलाई तीव्रता पारेको उद्घोष गरेका छन् । 

महासंघको ६०औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिको लागि उम्मेदवारी घोषणा हुन सुरु भएको छ । महासंघको आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ । नयाँ कार्यसमितिमा हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विधानतः स्वतः अध्यक्ष हुनेछन् भने अन्य पदका लागि चुनावी प्रतिस्पर्धा हुनेछ । 

महासंघले विधान संशोधन गरेर यस वर्षबाट वरिष्ठ उपाध्यक्ष बन्नका लागि पनि पहिले कार्यसमिति सदस्य बन्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचित सञ्चालक समितिले नै वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ । 

महासंघको वरिष्ठ उपाध्यक्षमा सोमबार हेमराज ढकाल नेतृत्वको प्यानल घोषणा भएको हो । हाल वस्तुगत तर्फका उपाध्यक्ष रहेका ढकालको टिममा हाल एसोसिएट उपाध्यक्ष रहेकी ज्योत्सना श्रेष्ठले सोही पदमा दोहोर्याउने घोषणा गरेकी छन् । 

यही प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेले उम्मेदवारी घोषणा गरेका छन् । महासंघले विधान संशोधन गर्दै यस पटकदेखि दुई जना जिल्ला नगर उपाध्यक्ष हुने व्यवस्था गरेको छ । यसअघि एउटा मात्रै जिल्लानगर उपाध्यक्ष हुने व्यवस्था थियो । 

वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् भने महिला उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेदवारी दिएकी छन् । महिला उपाध्यक्ष पनि यस वर्षदेखि सुरु गरिएको हो ।  ढकाल प्यानलले आफूलाई समावेशी, अनुभवी र क्षमतावान व्यवसायीको समूह भएको दाबी गरेको छ । ६ जना पदाधिकारीमा तीन जना महिला छन्, जुन पदाधिकारीमा ५० प्रतिशत हिस्सा हो । 

यस्तो छ व्यावसायिक पृष्ठभूमि

वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल एक अनुभवी उद्योगीका रूपमा परिचित छन् । अहिले वस्तुगत उपाध्यक्षको रूपमा महासंघमा काम गरिरहेका उनी हेरिटेज ग्रुपका अध्यक्षसमेत हुन् । 

नेपालमा म्याट्रेस व्यवसायको सुरुवात एवं व्यवसाय विस्तार गर्ने श्रेय हेमराज ढकाललाई नै जान्छ । वस्तुगत उपाध्यक्ष बन्नुअघि उनी कृषि उद्यम केन्द्रको नेतृत्व, कोभिड–१९ महामारीका बेला स्वास्थ्य तथा सीप विकास समितिमा सक्रिय भूमिका, अक्सिजन, क्वारेन्टाइन र औषधि आपूर्ति व्यवस्थापनमा समन्वय जस्ता कामलाई उनले आफ्नो कार्यकालका उपलब्धिका रूपमा उल्लेख गरेका छन् । 

झापा उद्योग वाणिज्य संघ र चिया उत्पादक संघमा उनले नेतृत्वदायी भूमिका  निर्वाह गरिसकेका छन् । सोमबार उम्मेदवारी घोषणा गर्दै ढकालले उद्योगी तथा व्यवसायीहरूका समस्याहरू समाधानका लागि आवाज बुलन्द गर्ने बताए । उनले सबै उद्योगीहरू सशक्त भई एकबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले सबै उद्योगी व्यवसायीहरूलाई मिलाएर जाने समेत प्रतिवद्धता जनाए । 

nullहेमराज ढकाल

ढकालले भने, ‘अर्को समूहले पनि उम्मेदवारी घोषणा गर्ने सुनेको छु । म सबै व्यवसायी तथा उद्योगी साथीहरूलाई अनुरोध गर्न चाहन्छु ।’

यस्तै, एसोसिएट तर्फकी उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठ गरगहना व्यवसायी हुन् । ज्वेलरी व्यवसायीको रूपमा आफ्नो परिचय बनाएकी उनी मेरिगोल्ड ज्वेलर्स कम्पनी सञ्चालन गरिरहेकी छन् । ज्योत्सना हाल नेपाल उद्योग वाणिज्य महासंघमा रोजगारदाता परिषदको सभापतिको रूपमा काम गरिरहेकी छन् । उनी रत्न तथा आभूषण महासंघकी अध्यक्ष भएर पनि काम गरिसकेकी छन् । 

सार्क चेम्बर अफ कमर्सलगायत आधा दर्जन निजी क्षेत्रका संघ संगठनमा काम गरेको अनुभव उनीसँग छ । 

nullज्योत्सना श्रेष्ठ

एसोसिएट उपाध्यक्षकी उम्मेदवार श्रेष्ठले अब बलियो आवाज उठाएर बोल्नु पर्ने र काम गरेर देखाउनु पर्ने बताइन् । आफूले  वर्तमान कार्यसमितिमा रहेर महत्त्वपूर्ण काम गरेको सुनाउँदै अब थप काम गर्नका लागि मतदान गरेर सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरिन् । 

‘विदेशमा पुगेर पनि नेपाली निजी क्षेत्रको आवाज उठाएँ, महिलासँगै समग्र उद्योगी व्यवसायीको आवाज बनें,’ उनले भनिन्, ‘प्रणालीमा देखिएको ग्याप न्यूनीकरण गर्न र समस्या समाधान गर्न अगाडि बढेकी छु, निजी क्षेत्रको एकीकृत आवाज बन्नेछु ।’ 

यस्तै, जिल्ला नगरका उपाध्यक्षका उम्मेदवार उमेश डालमिया पनि पूर्वका परिचित र अनुभवी व्यवसायी हुन् । महासंघको कार्यकारिणी सदस्यका रुपमा काम गरिरहेका उनी मेला समिति संयोजकको जिम्मेवारीमा पनि छन् । डालमिया बिर्तामोड उद्योग वाणिज्य संघका २०५६ देखि २०५८ सम्म अध्यक्ष भएर काम गरेको थिए भने झापा उद्योग वाणिज्य संघको अध्यक्ष बनिसकेका छन् । धरानबाट औद्योगिक व्यवसाय सुरु गरेका उनी बिर्तामोडमा रहेको रेडियो भिजनका सञ्चालकसमेत हुन् । उनी व्यवसायसँगै सामाजिक काममा पनि सक्रिय छन् । 

डालमियाले जिल्ला नगरका व्यवसायीहरूको समस्या समाधानका लागि आफूले धेरै काम गरेको सुनाए । आगामी दिनमा पनि थप काम गर्ने उनको भनाइ छ । 

nullउमेश डालमिया

नेपाल सरकारसँग सहकार्य गरेर व्यवसायीका समस्या दह्रो रूपमा राख्नका लागि आफू नेतृत्वमा जान चाहेको उल्लेख गर्दै उनले व्यवसायीको समस्या समाधानका लागि आफू अग्रपंक्तिमा उभिने धारणा राखे । 

ढकालकै प्यानलबाट जिल्ला नगरको उपाध्यक्षका लागि कल्पना गैरेले पनि उम्मेदवारी घोषणा गरेकी छन् । पाल्पा घर भएकी उनी कैलालीको धनगढीमा रहेर व्यवसाय गर्दै आएकी छन् । उनी स्वास्थ्य व्यवसायी हुन् । उनी पनि महासंघको कार्यकारिणी सदस्यका रूपमा कार्यरत छिन् ।

यस्तै, जिल्ला/नगर उपाध्यक्षका उम्मेदवार कल्पना गैरेले पदले प्रतिष्ठाभन्दा पनि जिम्मेवारी भएको बताउँदै आफू जिल्ला नगरको आवाज बन्न उम्मेदवार बनेको बताइन् ।

nullकल्पना गैरे

गैरेले आफू जिल्ला नगरको उपाध्यक्ष बनेको खण्डमा व्यवसायीको समस्या सम्बोधनमा अग्रसर हुने बताइन् । उनले नेतृत्व क्षमता भएकै कारण उपाध्यक्षको उम्मेदवार बनेको सुनाउँदै पारदर्शिता, उत्तरदायित्व र जिम्मेवारीका साथ काम गर्ने बताइन् ।

यस्तै, वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ पनि अनुभवी व्यवसायी हुन् । सिन्धुपाल्चोक घर भएका श्रेष्ठले बागमती आर्टस् एण्ड ह्याण्डिक्राफ्ट सञ्चालन गर्दै आएका छन् । हस्तकलाका उत्पादनलाई अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्न उनको महत्त्वपूर्ण योगदान छ । 

nullनरेशलाल श्रेष्ठ

पर्यटन, ऊर्जा, स्वास्थ्य क्षेत्रमा पनि उनको लगानी र अनुभव छ । नेपाल निर्यात परिषदको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । श्रेष्ठले हस्तकला, उर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रबाट प्राप्त गरेको अनुभव महासंघमा बसेर काम गर्ने बताए । उनले मतदातालाई साथ दिएर काम गर्ने अवसर दिन पनि आग्रह गरे । 

यस्तै, ढकाल प्यानलबाट व्यवसायी कमला श्रेष्ठ पनि महिला उपाध्यक्षको उम्मेदवार बनेकी छन् । तीन कार्यकाल महासंघको कार्यसमिति सदस्य बनिसकेकी उनीसँग चार दशक व्यवसाय गरेको अनुभव छ । उनी हाल महासंघको महिला उद्यमी विकास समितिको सभापतिको रूपमा काम गरिरहेकी छन् । उनी ब्युटी पार्लर व्यवसायी हुन् । उनी सायम इन्स्टिच्युट अफ हेयर डिजाइन एण्ड ब्युटी केयरको सञ्चालक हुन् । उनी नेपाल ब्युटिसिएन संघको संस्थापक अध्यक्षसमेत हुन् । 

nullकमला श्रेष्ठ

श्रेष्ठले २०३६ सालबाट १० हजार लगानी गरेर एक महिनामा ८० रुपैयाँ कमाउनेदेखि अहिले लाखौंलाई रोजगारी दिने क्षेत्र सौन्दर्य व्यवसाय बनेको बताइन् । सुरुवाती दिनमा ससुराले पानी नचल्ने काम गरिस् भन्ने आक्षेप लगाएको गुनासो सुनाउँदै उनले भनिन्,’ ‘महासंघमा तीन कार्यकाल काम गरेर पनि महिला उद्यमी विकासमा उल्लेखनीय काम गरेकी छु, अब मलाई सबैले विश्वास गर्ने अपेक्षा छ ।’

चण्डीदेखि चन्द्रसम्मको साथ

वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल नेतृत्वको प्यानललाई आधा दर्जन बढी पूर्वअध्यक्षहरूले समेत साथ दिएका छन् । सोमबार आधा दर्जन पूर्वअध्यक्ष उनको उम्मेदवारी घोषणासभामा उपस्थित थिए । वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि घोषणासभामा उपस्थित भएका थिए ।

अध्यक्ष ढकालले उम्मेदवारी घोषणा गरेका सबै उम्मेदवार अनुभवी र क्षमतावान रहेको भन्द्र प्रशंसासमेत गरेका थिए । आफू निर्विरोध अध्यक्षमा निर्वाचित भएको विषय स्मरण गर्दै उनले सकेसम्म अहिले पनि निर्विरोधरूपमा निर्वाचित हुन आग्रह गरेका थिए । 

उनले अर्का समूहले पनि उम्मेदवारी घोषणा गर्ने सूचना पाएको उल्लेख गर्दै सकेसम्म मिलेर अगाडि बढेमा राम्रो हुने र हुनै नसके स्वस्थ प्रतिस्पर्धा गर्न पनि आग्रह गरे । 

null

कार्यक्रममा पूर्वअध्यक्ष चण्डीराज ढकाल, पशुपति मुरारका, रविभक्त श्रेष्ठ लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले पनि उम्मेदवारी घोषणा गरेका सबै व्यवसायी अनुभवी र क्षमतावान भएको बताएका थिए । ढकाल समूहले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ८ जना पूर्वअध्यक्ष आफ्नो समूहमा रहेको प्रचार गरेको छ ।

उनीहरुले सोमबार पूर्वअध्यक्षहरू शेखर गोल्छा, भवानी राणा, पशुपति मुरारका, चण्डीराज ढकाल, विनोद बहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठको नाम आफूलाई समर्थन गरेको सूचीमा राखेको थियो । यद्यपि, पूर्वअध्यक्षहरूले आफूहरूलाई निमन्त्रणा आएकोले शुभकामना दिन मात्रै गएको र खुलेरै कुनै पनि टिममा नलागेको धारणा राखेका छन् । कार्यक्रममा गोल्छा, राणा र विनोद श्रेष्ठ भने उपस्थित थिएनन् । 

महासंघमा पूर्वअध्यक्ष फ्याक्टरले ठूलो काम गर्ने गरेको छ । 

वरिष्ठ उपाध्यक्ष खोज्दै अर्को समूह

अर्को समूहले भने चैत पहिलो साता उम्मेदवारी घोषणा गर्ने बताएको छ । सो समूहले वरिष्ठ उपाध्यक्षको उम्मेदवार टुङ्ग्याउन सकेको छैन ।

स्रोतका अनुसार अहिले वर्तमान जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्व उपाध्यक्ष द्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसँगै किशोर प्रधान र भाष्करराज कर्णिकारले वरिष्ठ उपाध्यक्षका लागि रुची देखाएका छन् । उनीहरूमध्ये एक जना वरिष्ठ उपाध्यक्ष बन्नेछन् । 

सो समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा शिव घिमिरे, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलराज पाण्डे र जिल्लानगर उपाध्यक्षमा कृष्ण शर्मा र सुरकृष्ण श्रेष्ठ रहेका छन् ।  

Share News