साम्बाले भनिन्– सहयोग रकम दुवै खातामा नहाल्नू, मलाई उपचारमा पुग्ने रकम उठ्यो

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी अर्थात साम्बाको खातामा २४ घण्टामै डेढ करोड रुपैयाँ उठिसकेको छ । उनले सामाजिक सञ्जालमार्फत नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी दिएकी हुन् ।

‘मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ,’ उनले फेसबुकमा लेखेकी छन् । 

साम्बाले आवश्यक पर्ने रकम उठिसकेकाले अब सहयोगको आवश्यकता नपर्ने पनि उल्लेख गरेकी छन् ।

‘आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु, उनले भनेकी छन् ।

त्यस्तै, उनले कतारमा रहेका विभिन्न व्यक्ति र संस्थाले पनि सहयोगको वाचा गरेको बताएकी छन् । 

साम्बाले पुन: नेपालको जर्सी लगाएर मैदानमा उत्रिने प्रतिबद्धता पनि जनाएकी छिन् ।

Share News