काठमाडौं । डीएभी कलेजको आयोजनामा चौथो बीसीए कप पुरुष अन्तर–कलेज फुटसल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न कलेजका २८ टोलीले सहभागिता जनाएका थिए ।
प्रतियोगिता व्हिजी डेभियन्स र कोग्निटो आईटी क्लबको संयोजनमा डीएभी कलेजको सहयोगमा आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता डीएभी कलेजका अध्यक्ष अनिल केडियाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय फुटबल खेलाडी बिकेश कुथु उपस्थित थिए । साथै, डीएभी कलेज तथा अन्य संस्थाका प्राध्यापक, शिक्षाविद् र अतिथिहरूको पनि उपस्थिति रहेको थियो ।
प्रतिस्पर्धात्मक खेलपछि नागार्जुन कलेज अफ आईटी विजेता बनेको छ । विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । पास्कल नेशनल कलेज उपविजेता बन्दै ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भयो ।
व्यक्तिगततर्फ नागार्जुन कलेज अफ आईटीका रिशव श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए भने श्रेयन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट खेलाडीको उपाधि पास्कल नेशनल कलेजका आवास योञ्जनले प्राप्त गरे ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बिकेश कुथु र डीएभी कलेजका अध्यक्ष अनिल केडियाले आईटी विषय अध्ययन गर्ने विद्यार्थीका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताए । प्रविधिसँग बढी समय बिताउने विद्यार्थीका लागि शारीरिक गतिविधि आवश्यक रहेको उनीहरूको भनाइ थियो । अध्यक्ष केडियाले प्रविधिमुखी जीवनशैलीका कारण खेलकुदको महत्त्व झन् बढेको उल्लेख गरे ।
डीएभी कलेजका बीएससी र बीसीएका एकेडेमिक हेड शशि भूषण चतुर्वेदीका अनुसार प्रतियोगिताको उद्देश्य विभिन्न बीसीए कलेजबीच मित्रता, सहकार्य र समन्वय अभिवृद्धि गर्नु हो । प्रतियोगिताको समन्वय बीसीए प्रोग्राम हेड सुदीप अधिकारीले गरेका थिए ।
प्रतियोगिताका खेलहरू एन्फा रेफ्री उज्ज्वल लिम्बू, यमबहादुर सुनुवार र सुरज भण्डारीले सञ्चालन गरेका थिए । व्हिजी डेभियन्सका अध्यक्ष महेश्वर सिलवालको नेतृत्वमा आयोजक समितिले शिक्षक, विद्यार्थी र प्रायोजकहरूको सहयोगमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।