काठमाडौं । काठमाडौं मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । सिनामंगलस्थित अस्पतालले एक वक्तव्य जारी गर्दै साम्बाको सम्पूर्ण उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएको हो ।
नेपालको राष्ट्रिय गहनाका रूपमा परिचित साम्बा पछिल्लो सात हप्तादेखि घुँडाको चोटका कारण मैदानबाहिर रहेकी छन् । यसअघि कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गरी हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेपछि पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएको छ । त्यसपछि साम्बाले सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन् ।
साम्बाले उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने उल्लेख गर्दै सहयोगको आग्रह गरेपछि काठमाडौं मेडिकल कलेजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'साम्बा नेपालमै उपचार गर्न तयार भए देशकै एक अब्बल उपचार संस्थाका रूपमा रहेको काठमाडौं मेडिकल कलेजले उनलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ,' अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
अस्पतालले अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको कर्तव्यबोधका आधारमा साम्बाको उपचार निःशुल्क गर्ने निर्णय गरिएको जनाएको छ ।