काठमाडौं । भ्याली पेलेट फिड प्राइभेट लिमिटेडले सन् २०२५ मा ४ अर्ब ६ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १४.५५ प्रतिशत अर्थात् ५१ करोड ६० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीले ३ अर्ब ५४ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यसअघि कम्पनीले सन् २०२३ मा ३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ४ अर्ब ५ करोड २० लाख रुपैयाँ तथा सन् २०२१ मा ३ अर्ब १० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीका अनुसार दाना पुनः संरचना गरेपछि बिक्री परिमाण बढेको र विशेषगरी ब्रोइलर दाना खण्डमा ग्राहक स्वीकृति सुदृढ भएकाले आम्दानी वृद्धि भएको हो । कुल आम्दानीमध्ये करिब ८६ प्रतिशत हिस्सा ब्रोइलर दाना खण्डबाट आएको जनाएको छ ।
सञ्चालन नाफामा पनि सुधार देखिएको छ । ब्याज, कर तथा ह्रासकट्टी अघिको नाफा मार्जिन सन् २०२४ मा ४.९९ प्रतिशत रहेकोमा सन् २०२५ मा बढेर ५.६५ प्रतिशत पुगेको छ । खुद नाफा मार्जिन १.२३ प्रतिशतबाट बढेर २.६४ प्रतिशत पुगेको छ। ब्याज खर्च घटेकाले खुद नाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ । ग्रस नगद सञ्चिति ६ करोड ७० लाख रुपैयाँबाट बढेर १२ करोड ५० लाख रुपैयाँ पुगेको छ, जसले आन्तरिक नगद प्रवाहमा सुधार आएको देखाउँछ ।
सन् २००८ अगस्टमा स्थापना भएको कम्पनीको कारखाना मकवानपुरको हेटौंडामा रहेको छ । कम्पनीले कुखुरा पालनका लागि चार प्रकारका पेलेट दाना तथा ब्रोइलर ब्रीडरका लागि म्यास दाना उत्पादन गर्दै आएको छ । सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीको वार्षिक उत्पादन क्षमता ७० हजार मेट्रिक टन पुगेको छ ।
कम्पनीका अनुसार दाना उद्योग अत्यन्तै विखण्डित र प्रतिस्पर्धात्मक छ । संगठित तथा असंगठित दुवै प्रकारका उद्योगहरू बजारमा सक्रिय छन् । उत्पादनमा फरकपन कम भएकाले मूल्य निर्धारणमा साना तथा मध्यम उत्पादकहरूको क्षमता सीमित हुन्छ र बजारकै माग-आपूर्ति अवस्थाले मूल्य तय हुने हुँदा बजार उतारचढावले व्यवसायमा असर पार्ने गरेको जनाएको छ ।
कम्पनीको व्यवसाय प्रत्यक्ष रूपमा पोल्ट्री उद्योगसँग जोडिएको छ । कुखुरा पालन क्षेत्रमा बर्ड फ्लुजस्ता रोगको प्रकोप वा मासु उपभोगमा कमी आएमा दाना उत्पादक कम्पनीहरूको बिक्री तथा नाफामा प्रत्यक्ष असर पर्ने जोखिम रहेको कम्पनीले जनाएको छ ।
उद्योग सञ्चालनका लागि कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३९ करोड ३५ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७१ करोड रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब १० करोड ३५ लाख रुपैयाँ ऋण लिएको छ। अघिल्लो वर्ष कम्पनीको कुल ऋण ३ अर्ब ६० करोड २८ लाख रुपैयाँ रहेको थियो ।