एशियन लाईफ इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश पारित

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारण सभा फागुन ११ गते सम्पन्न भएको छ ।

साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष दीपक कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ ।

सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको सञ्चित नाफाबाट कम्पनीको चुक्ता पुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । यसअन्तर्गत चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने २५ करोड ५७ हजार ९६० रुपैयाँ ३५ पैसा बराबरको बोनस सेयर र ५.५२६३ प्रतिशतका दरले हुन आउने २७ करोड ६३ लाख ७९ हजार ८५० रुपैयाँ ९१ पैसा (करसहित) नगद लाभांश वितरण गरिनेछ ।

यसैगरी, आर्थिक वर्ष २०८१/०८२ (एनएफआरएस बमोजिम) असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, सो अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गरिएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ । साथै, साधारण सभाको निर्णय कार्यान्वयनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र सम्बन्धित निकायबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत अनुमोदन गरिएको कम्पनीले जनाएको छ ।  

Share News