स्वतन्त्रलाई सहयोग गरेको भन्दै २ पालिका प्रमुख र १ उपप्रमुखलाई जसपा नेपालको कारबाही

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही गरेको छ । 

आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर-३ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै जसपाले जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव र उपाध्यक्ष बन्दना पाण्डेलाई पार्टीबाट निष्काशन गरेको हो ।

पार्टीका जिल्ला अध्यक्ष रामनरेश रायले एक विज्ञप्ति जारी गर्दै पार्टीको हितविपरीत अनुशासन र विधान विपरीत कार्य गरेको आरोपमा उनीहरूसहित १५ जना नेता कार्यकर्तालाई कारबाही गरिएको जानकारी दिए । 

यसैगरी पार्टीका केन्द्रीय सदस्य श्याम यादव, हरिनारायण मण्डल र प्रदेश सदस्य बन्दना पाण्डेलाई केन्द्र र प्रदेशमा निष्काशनको लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ । 

जसपा नेपालको महोत्तरी-३ मा मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएको छ, तर उनीहरूले पार्टीकै बागी एवं स्वतन्त्र उम्मेदवार हरिनारायण यादवलाई सहयोग गरिरहेका छन् । 

Share News