निर्वाचनमा गैर-कानुनी क्रियाकलाप रोक्न विभाग सक्रिय, खाद्यान्न र फलफूलमा बढायो निगरानी

काठमाडौं । निर्वाचनका समयमा बजारमा हुने गैर-कानुनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्ने उद्देश्यका साथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन २६ वटा फर्ममा अनुगमन गरेको छ ।

विशेषगरी खाद्यान्न तथा फलफूल व्यवसाय गर्ने फर्ममाथि अनुगमन गर्दै विभागले कानुनको पूर्ण परिपालन गर्न आग्रह गरेको छ । निर्वाचनको बहानामा खाद्यपदार्थ लुकाउने, कालोबजारी गर्ने, तोकिएको भन्दा बढी मूल्य लिने जस्ता समस्या देखिएको भन्दै गुनासो आएपछि विभागले थप सक्रिय भएको छ ।

विभागले सोमबार एकैपटक कुलेश्वर क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा कैफियत भेटिएपछि रमेश फ्रुट ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ ।

अन्य २५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले अनुगमन गर्दै आएको छ । 

Share News