काठमाडौं । नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्दै लगातार चौथो वर्ष ‘डिलर अफ द इयर – साउथ एसिया रिजन’ अवार्ड जितेको छ ।
यो सम्मान जेसीबी इन्डिया लिमिटेडद्वारा श्रीलंकामा १८ फेब्रुअरीमा आयोजित वार्षिक जेसीबी डिलर सम्मेलन २०२६ मा प्रदान गरिएको हो । एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीबाट उक्त सम्मान ग्रहण गरेका थिए । कार्यक्रममा कम्पनीका सीईओ तेज प्रसाद सुवेदी तथा सीओओ (रिटेल सेल्स) दुर्गा प्रसाद निरौलाको पनि उपस्थिति रहेको थियो ।
‘डिलर अफ द इयर’ अवार्ड उत्कृष्ट बिक्री प्रदर्शन, बजारमा मजबुत उपस्थिति तथा उच्च ग्राहक सन्तुष्टिको मूल्यांकनका आधारमा प्रदान गरिन्छ । कडा प्रतिस्पर्धाको बीचमा पनि एमएडब्लू अर्थमुभर्सले नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा आफ्नो अग्रणी स्थान कायम राख्दै यो उपाधि लगातार चार वर्षसम्म जित्न सफल भएको कम्पनीले जनाएको छ ।
अवसरमा अध्यक्ष अग्रवालले यो उपलब्धिले कम्पनीको नेतृत्व क्षमता, कार्यशैली र ग्राहकको विश्वासलाई पुनः पुष्टि गरेको बताए । उनले यो सम्मान देशको पूर्वाधार निर्माणमा संलग्न सम्पूर्ण निर्माण व्यवसायी, प्राविधिक, इन्जिनियर तथा सेवा प्रदायकहरूको साझा सफलता भएको उल्लेख गर्दै नेपालको सडक, पुल, जलविद्युत, विमानस्थल र स्मार्ट सिटी निर्माणमा योगदान गर्ने सबैप्रति आभार व्यक्त गरे ।
सन् १९६४ मा स्थापित एमएडब्लू ग्रुपअन्तर्गतको एमएडब्लू अर्थमुभर्सले ब्याकहो लोडर, एक्जाभेटर, ह्वील्ड लोडर तथा टेलिह्यान्डलरलगायतका उपकरण उपलब्ध गराउँदै आएको छ । कम्पनीले देशभर बलियो सर्भिस नेटवर्कमार्फत निर्माण क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।