काठमाडौं । बाजुराका लोक्जन रावत बिहान ८ बजे वीर अस्पताल पुगे । अस्पतालमा टोकन लिनेहरूको लाइन लागि सकेको थियो । उनको पालो ७ सय नम्बरमा आयो । करिब २ घण्टाको पर्खाइपछि उनले युरोलोजी हड्डी सम्बन्धी जाँचका लागि टिकट पाए । उनी टिकट काटेर युरोलोजी विभागको ओपीडीमा पुग्दा बिरामीले भरिसकेको थियो । बिहान ७ बजे घरबाट निस्केका उनले करिब ११ बजेसम्म पनि चिकित्सक भेट्न पाएनन् ।
लोक्जन सुरुमै वीरमा टिकट काट्न आएका थिएनन् । शिक्षण अस्पताल महाराजगञ्जबाट फर्केर वीरमा आउँदा ८ बजिसकेको थियो । उनी महाराजगञ्जमै बस्ने भएकाले पनि उनलाई टिचिङमा सहज हुन्थ्यो । तर स्वास्थ्य बीमा बन्द छ भन्ने कुरा थाह थिएन ।
‘बिहान छिट्टै पालो आउँछ भन्दै टिचिङ पुगें, त्यहाँ बीमा कार्यक्रम नै बन्द रहेछ, फेरि फर्केर आउँदा ढिलो भइसक्यो,’ वीर अस्पतालमा भेटिएका उनले भने, ‘अझै यहाँ चिकित्सकलाई भेट्न कति सयम लाग्ने हो, फेरि के-के जाँच गर्न भन्नुहुन्छ, पैसा हेर्दा वीर अस्पतालमा आउन मन लाग्छ, भीड हेर्दा निजी अस्पताल जान मन लाग्छ ।’
लोक्जन वीरमा आउनुको एउटै कारण थियो स्वास्थ्य बीमा सेवा । अन्य अस्पतालमा स्वास्थ्य बीमाको सेवा नहुँदा र भएका अस्पतालमध्ये पनि सस्तो वीर अस्पताल हुँदा उपचारको लागि वीरमा आएको उनी बताउँछन् । तीन दिन लगाएर बाजुराबाट आएकी बिरामी आमा लिएर वीरमा पुगेका उनी सबै जाँच र औषधि बीमाबाट नपाइने कुराले उत्तिकै चिन्तित् छन् ।
‘बुवा भारतमा मजदुरी गर्नुहुन्छ, म यहाँ पढ्दै थिएँ, आमा बिरामी हुनुभयो, अस्पताल देखाउँदा राम्रो अस्पतालमा जानु भन्नुभयो,’ उनी भन्छन्, ‘बीमाको साहरामा उपचारका लागि अस्पताल आएका छौं, समस्या पालो पाउनै गाह्रो ।’
सिन्धुलीका ५५ वर्षका सुकराम तामाङ ५४ वर्षकी श्रीमतीलाई हातमा डो¥याउँदै वीरमा पुगेका थिए । श्रीमतीलाई नसाको समस्या देखिएपछि उनी अस्पताल धाउन थालेको दुईवर्ष जति भयो । यस अघि टिचिङ अस्पतालमा उपचार गराइरहेका उनी त्यहाँ बीमा कार्यक्रम बन्द हुँदा उनी वीरमा आए । हातमा स्वास्थ्य बीमाको फाइल, उपचारका लागि दिएका कार्ड बोकेका उनलाई तेस्रो तलामा रहेको ओपीडी कक्षमा जान मुस्किल परिरहेको थियो ।
अस्पतालमा उपचार गर्न त के आउनु थियो हजुर सकुशल मानिस पनि घर फर्कँदा बिरामी हुने पीर,’ उनी भन्छन्, ‘टिकट काट्नदेखि उपचारमा लाइन लाग्नुपर्छ, लामो समय उभिरहन गाह्रो पर्छ, यहाँ जता गयो उतै लाइन ।’
लोक्जन जस्ता धेरै सेवाग्राही शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको थाहा नहुँदा फर्केर वीर अस्पताल पुग्छन् । धेरैजसो नागरिकलाई शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको थाहा भए पनि ग्रामिणस्तरबाट आउने बिरामीलाई थाहा नहुँदा फर्केर वीर अस्पताल आउनुपरेको छ भने सुकराम जस्ता बीरामीको लाइनमा कुर्नुपर्ने समस्या अस्पताल पुगेका अधिकांशको छ ।

वीरमा बिरामीको चाप
शिक्षण अस्पताल महारजगञ्जले गत मात्र १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम गर्यो । अस्पतालले पाउनुपर्ने भुक्तानी रकम नपाउँदा सेवा दिन समस्या भएको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको हो । शिक्षण अस्पतालले सेवा बन्द गर्दा यसको चाप वीर अस्पतालमा परेको छ । जसले गर्दा वीरमा अहिले बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।
वीर अस्पतालका अनुसार टिचिङले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्दा त्यहाँ जाने बिरामी पनि वीरमा आउन थालेका छन् । जसका कारण बीमित सेवाग्राहीको चाप बढ्दो छ । अस्पतालका सूचना अधिकारी हरि पंगेनी शिक्षण अस्पतालले बीमा सेवा बन्द गर्दा वीरमा बिरामीको सख्या थप बढेको बताउँछन् ।
‘देशभरका रेफर गरिएका व्यक्ति आउने भनेको कि वीर कि टिचिङमा हो, टिचिङले सेवा बन्द गरेको थाहा पाएका बिरामी सिधै वीरमा आउँछन्, नपाएकाहरू टिचिङबाट फर्केर आउने गरेका छन्,’ पंगेनीले भने ।
वीर अस्पतालका चिकित्सकहरूका अनुसार पनि आजभोलि स्वास्थ्य बीमा भएका बीरामीको चाप अस्पतालमा बढेको छ । न्युरोलोजिष्ट डा.अविनाश चन्द्र देशभरबाट रेफर हुने ठाउँ नै वीर भएकाले वीरमा भीड लाग्ने गरेको बताउँछन् । उनी पहिलेको तुलनामा माघ महिनादेखि स्वास्थ्य बीमा भएका व्यक्तिको चाप बढेको बताउँछन् ।
‘यहाँ आउने अधिकांश व्यक्ति बीमा भएका भएकाहरू हुनुहुन्छ, कतिपय अस्पतालले बीमा बन्द गरेको र कतिपयले बन्द गर्ने घोषणा गरेको सुन्दा पनि बीरामीको भीड यहाँ बढेको हुन सक्छ,’ उनले भने ।
अस्पताल प्रशासनका अनुसार माघ १ गतेपछि आउने बिरामी सख्या थप बढेको छ । अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार माघ अगाडि मासिक १० देखि १३ हजार बीमा भएका बिरामी उपचारका लागि आउँथे भने माघ यता यो संख्या बढेको छ ।
अझ टिचिङ अस्पतालले बीमा सेवा कार्यक्रम बन्द गर्ने सूचना निकालिसकेपछि नै वीरमा बिरामीको चाप बढ्दै गएको छ । टिचिङले सूचना निकालेको पुस महिनादेखि नै वीरमा मासिक एक हजार बढीको हाराहारीमा बिरामी संख्या बढेको तथ््यांकले देखाएको छ ।
गत मंसिरमा १४ हजार ४ सय ७५ स्वास्थ्य बीमा कार्ड भएका नागरिकले वीरमा सेवा लिँदा पुसमा यो सख्या बढेर १५ हजार ८ सय ४६ पुगेको थियो । यस्तै माघ महिनामा १५ हजार ८ सय ४ जनाले सेवा लिएका छन् । जबकि यो सख्या गएको साउन महिनामा १३ हजार ८३, भदौमा १३ हजार ८ ७७, असोजमा १० हजार ३ सय ८४, कार्तिका ११ हजार ३ सय ८१ र मंसिर महिनामा १४ हजार ४ सय ७५ स्वास्थ्य बीमा भएका व्यक्तिले वीरबाट सेवा लिएका थिए ।
उपचारको पालो महिनौंपछि
वीरमा बिरामीको चाप अहिलेको मात्र होइन । देशका विभिन्न ठाउँका बिरामी उपचारको लागि यही पुग्ने गर्छन् । तर, टिचिङले बीमा कार्यक्रम बन्द गर्दा अझ बढी चाप भएको हो । बिरामीको चप बढेसँगै अस्पतालमा उपचारको पालो पाउन सेवाग्राहीले उत्तिकै कुर्नपर्छ ।
अछामकी सोवी थापा उपचारका लागि वीर अस्पताल पुगिन् । लामो समयदेखि हात खुट्टा दुख्ने समस्याबाट पीडित उनी उपचारका लागि पटक–पटक भारत, धनगढीका अस्पताल पुगिन् । तर, कतै पनि निको नहुँदा वीर अस्पताल पुगिन् । उनलाई नसाको समस्या हुन सक्ने भन्दै चिकित्सकले सर्भिकल स्पाइनको एमआरआई गर्न भन्यो ।
चिकित्कको सल्लाह अनुसार उनी सल्लाह अनुसार एमआरआई गर्ने ठाउँ पुगिन् । तर, उताबाट जवाफ आयो– ‘अहिले पालो पाइँदैन बैशाखसम्म कुर्नुपर्छ ।’ ‘एउटा एक्सरे गर्न बैशाखसम्म कुर्नुपर्ने कस्तो अस्पताल,’ उनी भन्छिन्, ‘त्यत्रो टाढाबाट उपचार गर्न काठमाडौं आउनु त्यसमा पनि पालै नपाउनु कस्तो अचम्म, यहाँ त बिरामी उपचारको पर्खाइमै मृत्यु हुने रहेछ ।’
‘अन्य अस्पताल बीमाको सुविधा छैन, बीमाको सुविधा भएको राम्रो अस्पतालको अवस्था यस्तो छ । हामी जस्ता बिरामीको ज्यान त उपचार नपाएर जाने रहेछ,’ उनले भनिन् ।
वीरमा पालो नपाउँदा उनी एमआरआइका लागि निजी क्लिनिकमा गएर २० हजार रुपैयाँमा एमआरआई गरेको सुनाइन् । यस्तो समस्या वीर अस्पतालमा पुग्ने अधिकांशले भोग्नुपरिरहेको छ ।
वीरले औषधिको मात्रा पनि घटायो
वीरमा बिरामीको चाप बढेपछि अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध गराउने औषधिको मात्रा पनि घटाएको छ । फागुन १ गतेबाट बिरामीलाई बीमा मार्फत दिइने औषधीको मात्र घटाएको हो । अस्पतालले यस अघि तीन महिनासम्म खाने औषधी बिरामीलाई एकै पटक दिने गरेकोमा औषधी अभावमा एक महिनाका लागि मात्र दिन थालेको अस्पतालले एक महिनाका लागि मात्र बिमित सदस्यहरूलाई उपलब्ध गराउने जानकारी गराएको छ ।
अस्पताल प्रशासनले सेवा बन्द नभई घटाउन लागेको जनाएको छ । स्टकमा धेरै औषधी नहुँदा सबै बिरामीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले सेवा घटाएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी पंगेनीले बिरामीले अस्पताल आई तीन महिनासम्मलाई लिने औषधी अब एक महिनासम्मको लागि मात्र पाउन सक्ने बताए ।
पंगेनी भन्छन्, ‘टिचिङ अस्पतालले स्वास्थ्य बीमाको सेवा बन्दा गर्दा बिरामीको चाप वीरमा बढ्यो, एक पटक आउँदा तीन महिनालाई पाउने औषधी अहिले एक महिनाका लागि लिनुस यो खादै गर्दा फेरि लिन आउनुहोस् भनेर भनेका हौं, पहिलेको स्रोत साधनले पनि भ्याएन, थप स्रोत साधन आवश्यक पर्दा व्यवस्थापन गर्न यसो गर्नुपरेको हो ।’
उनले वीर अस्पतालले बीमा कार्यक्रम नरोकियोस् भन्दै सकेसम्म सेवा दिने ग्रयास गरिरहेको बताए । वीर अस्पतालले स्वास्थ्य बीमाबाट करिब करिब ५० करोड रकम पाउन बाँकी रहेको छ ।
‘भुक्तानी नपाउँदा सेवा दिन समस्या भएको अस्पतालले जनाएको छ । ‘सप्लायर्सले औषधी ल्याएर छोडेका छन्, पैसा पाएका छैनन, हार गुहार गर्दै अहिलेसम्म चलेको छ, बीमालाई निरन्ता दिनुपर्छ यसका लागि कसरी गर्दा सहज हुन्छ भन्नेमा अस्पताल लागेको छ,’ पंगिनीले भने ।