काठमाडौं । सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले जम्मा गरेको रकम १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ नाघेको छ । आइतबार अर्थात् (फागुन १० गतेसम्म) को तथ्यांकअनुसार कोषमा १ खर्ब २ अर्बभन्दा बढी रकम संकलन भएको हो ।
विसं २०७५ मंसिर ११ गते औपचारिक रूपमा सामाजिक सुरक्षा योजना सुरु गरेको कोषले २०७६ साउन १ गतेदेखि योगदान संकलन थालेको थियो । त्यसयता प्रत्येक महिना कोषमा जम्मा हुने रकम निरन्तर वृद्धि भइरहेको छ ।
औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा जम्मा गरिन्छ । यसमध्ये ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने प्रावधान छ । साथै, योगदानकर्ताले इच्छाअनुसार अतिरिक्त रकम समेत थप गर्न सक्ने व्यवस्था छ । मासिक योगदान अर्को महिनाको १५ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने हुन्छ ।
कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार संकलित रकम सुरक्षित ढंगले लगानी गरिएको छ । सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्युचुअल फन्ड, डिबेन्चरलगायतका क्षेत्रमा लगानी गरिएको छ भने योगदानकर्तालाई सापटीका रूपमा पनि रकम परिचालन भइरहेको छ ।
हाल कोषमा आवद्ध योगदानकर्ताको संख्या २८ लाख २२ हजार ३३३ पुगेको छ भने सूचीकृत रोजगारदाता २३ हजार ८४ रहेका छन् । कुल योगदानकर्तामध्ये झन्डै ६ लाख ७९ हजार औपचारिक क्षेत्रका श्रमिक छन् भने करिब २२ लाख वैदेशिक रोजगारीमा रहेका नेपालीहरू छन् ।
अनौपचारिक र स्वरोजगार क्षेत्रको सहभागिता भने न्यून देखिएको कोषको भनाइ छ । कोषका अनुसार हालसम्म अनौपचारिक क्षेत्रका ८५४ र स्वरोजगारतर्फका ८०८ जना मात्र कोषमा आवद्ध भएका छन् ।
औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा जस्ता योजनामार्फत योगदानकर्तालाई प्रत्यक्ष लाभ प्रदान गर्दै आएको कोषले सामाजिक सुरक्षाको दायरा क्रमशः विस्तार गरिरहेको जनाएको छ ।