धादिङमा बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । ग २ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-५ भैसीगौडामा अनियन्त्रित भई करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि सरकारले तत्काल उच्चस्तरीय चासो देखाएको छ । घटनाबारे छलफल गर्न सोमबार बिहान गृह मन्त्रालय मा आकस्मिक बैठक बसेको छ । बैठकले दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । 

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव, भौतिक पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको छ ।

छानबिन समितिको संयोजक भने अझै टुंगो लाग्न बाँकी रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा विदेशी नागरिकसमेत परेका छन् । घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 
 

Share News