काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा आज बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाएको छ ।
प्रशासनले सुरक्षा संवेदनशीलता र शान्ति-सुव्यवस्था कायम राख्न उक्त निर्णय गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कफ्र्युको सीमा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ ।
तोकिएको चार किल्लाभित्र कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधिमा पूर्ण रोक लगाइएको छ ।
प्रशासनले अत्यावश्यक सेवामा भने सहजीकरण गर्ने जनाएको छ । एम्बुलेन्स, दमकल, शव वाहन तथा स्वास्थ्यकर्मीका सवारी साधनहरू निर्वाध रूपमा सञ्चालन हुनेछन् ।
त्यस्तै सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षामा सहभागी हुने परीक्षार्थी तथा कर्मचारी, पर्यटकका सवारी साधन र कूटनीतिक नियोगका गाडीहरूलाई सुरक्षाकर्मीले आवश्यक सहजीकरण गर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रशासनले सर्वसाधारणलाई कफ्र्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षा निकाय परिचालन गरिसकेको जनाएको छ । आदेश उल्लङ्घन गर्नेविरुद्ध कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ ।
