काठमाडौं । धादिङको बेनीघाट रोराङ-५ भैंसीगौंडामा दुर्घटना भएको यात्रुबाहक बस अघिल्लो साँझ नै पोखराबाट गन्तव्यका लागि छुटेको खुलेको छ ।
माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सद्वारा सञ्चालित ग २ ख १४२१ नम्बरको उक्त बस ३४ जना यात्रुको चलानी लिएर आइतबार बेलुका ७ बजे पोखराबाट काठमाडौंका लागि प्रस्थान गरेको थियो ।
राति करिब १ः३० बजे बस अनियन्त्रित भई पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा खसेको हो । पोखराबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस धादिङको बेनीघाट रोराङमा दुर्घटनामा पर्दा २० जनाको ज्यान गएको छ । रातिको समयमा भएको दुर्घटनामा अन्य २४ जना यात्रु घाइते भएका छन्, जसको काठमाडौँ र स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
सशस्त्र प्रहरी र गोताखोरको टोलीले रातभर उद्धार कार्य जारी राखेका थिए। बसका चालक सुजित नेपाली अझै बेपत्ता छन् भने गाडीधनी ओमकुमार श्रेष्ठ पनि सोही बसमा सवार रहेको बुझिएको छ ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साइका अनुसार बसले पोखराबाट आधिकारिक रूपमा ३४ जनाको चलानी लिएको थियो ।
‘प्रहरीबाट प्राप्त जानकारी अनुसार गाडीमा सवारमध्ये हालसम्म २० जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन्,’ साइले भने ।
उनका अनुसार घाइतेहरूको काठमाडौंस्थित ट्रमा सेन्टर र अन्य विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।