सुपर खुदी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन रहेको छ । फागुन ५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गरेको हो । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित, सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ । 

दोस्रो चरणमा कम्पनीले ३१ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँको १२ लाख ८६ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

Share News