काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको बताएका छन् । आफ्नो किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको बताउँदै ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ आफू मैदानमा होमिएको उल्लेख गरेका हुन् ।
उनले एमालेलाई देशको प्रमुख शक्ति बनाउने आफ्नो अर्को ठूलो लक्ष्य रहेको र त्यसलाई पूरा गरेरै छाडेको दाबी गरे । नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरेको भएपनि त्यसलाई सहन नसक्नेहरूले फुटाएको उनको गुनासो छ । आफूमाथि लाग्ने ‘जिद्दी’ को आरोपबारे स्पष्ट पार्दै उनले आफू कहिल्यै पनि गलत वा नराम्रो कुरामा जिद्दी नगर्ने बताए ।
उनले भने, ‘मैले करिव किशोरावस्था नै थियो, विवाह पनि भइसकेको थियो । त्यसबेला पञ्चायत फाल्नुपर्छ, राजतन्त्र फाल्नुपर्छ भन्ने लाग्यो मलाई, म त्यस काममा लागेँ । लागेपछि लागें, लागें । जबसम्म पञ्चायत फालिएन, जेल परियोस् कि, जेल ठोकियोस् कि, हत्कडी लगाओस् कि, यातना दियोस् कि, कुटोस् कि, पिटोस् कि, भोकै राखोस् कि, जे सुकै गरे पनि राजतन्त्र फाली छाड्छु, पञ्चायत फाली छाड्छु ।’
संघर्षशील जिन्दगी रमाइलो नहुने तर सही कामका लागि गरिने संघर्षको अन्त्य सुखद् हुने उनको तर्क छ ।